अख्तियारको अनुगमन टोलीमाथि स्थानीय युवाबाट कुटपिट भएकाे घटना जाजरकाेटमा सार्वजनिक भएकाे छ । भेरी नपा–५ मा निर्माण भइरहेको वडा कार्यालयको भवन निर्माणमा अनियमितता भएको विषयमा अनुगमन गर्न पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सुर्खेतको टोलीमाथि भदौ २२ गते स्थानीय युवाहरूले कुटपिट गरेका छन ।
वडा कार्यालयको भवन निरीक्षण गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पाँच जनाको टोली आएको थियो ।
जिल्ला प्रहरी कार्यालय, जाजरकोटका डिएसपी सन्तोष रोकाका अनुसार स्थानीय युवाको कुटपिटबाट सुर्खेत जिल्ला वीरेन्द्रनगर नपा–११ निवासी अख्तियार कार्यालयमा कार्यरत चालक मानबहादुर ठाडा मगर घाइते भएका छन ।
स्थानीय युवाहरूले चालक मगरलाई मुक्काले हानी घाइते बनाएको डिएसपी रोकाले जानकारी दिनुभयो । घाइतेको स्वास्थ्य सेवा कार्यालय, जाजरकोटमा उपचार भइरहेको छ ।
घटनामा संलग्न सोही वडाका २४ वर्षीय वीरेन्द्र चन्द, किरण शाही र चक्र बहादुर मल्ललाई प्रहरीले भदौ २२ गते गिरफ्तार गरेको छ । गिरफ्तार भएका चन्द वडाअध्यक्षको भाई हुन भने अन्य स्थानीय युवा रहेको प्रहरीले जनाएको छ ।
भवन निर्माणमा अनियमितता भएको विषयमा अख्तियारको टोली निरीक्षण गर्न पुगेको थियो आवश्यक कागजातको अध्ययन गरिरहेका बेला आक्रमण भएको डिएसपी रोकाले बताउनु भएको छ ।
घटनामा संलग्नलाई प्रहरीले गिरफ्तार गरेको जानकारी आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सुर्खेतका प्रमुख शिवनाथ पौडेलले बताउनुभयो । उहाँका अनुसार जाजरकोटका धेरै योजनाहरू रहेकाले अनुगमनमा गएको टोलीमाथि आक्रमण भएको बताउनुभयो ।