बागमती प्रदेशसभा बैठक सञ्चालनका लागि सर्वदलीय बैठक आह्वान गरिएको छ। आज आइतबारका लागि बोलाइएको प्रदेशसभा बैठक चल्ने अवस्था नदेखिएपछि प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सर्वदलीय बैठक बोलाएका हुन्।
सभामुख पाठकले बोलाएको सर्वदलीय बैठक बिहान १० बजे बस्नेछ। सो बैठक प्रदेश सचिवालय भवनमा बोलाइएको छ। उक्त बैठकमा सहमति कायम गरी पूर्वनिर्धारित कार्यक्रम अनुसार बिहान ११ बजे देखी प्रदेश सभा बैठक सुचारू गर्ने योजना रहेको छ। यही भदौ १८ गतेदेखि बैठक बस्न नसकी तीन पटक सारिएको छ।
चालु आर्थिक वर्ष २०८०–८१ को बजेट पारित गर्दाको समयमा प्रतिपक्षी दलहरूसँग गरेको सहमति सरकारले कार्यान्वयन नगरे पछि प्रदेशसभा सञ्चालनमा एमाले र राप्रपाले असहमति जाहेर गर्दै आइरहेका छन्। सो बेला भएको सहमति कार्यान्वयन नभएसम्म बैठक चल्न नदिने चेतावनी दिएसँगै बैठक प्रभावित बनेको सभामुखको सचिवालयले जनाएको छ।