राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले जरैदेखि भ्रष्टचार उखेल्छ भने राप्रपाले सत्ता टिकाउन सहयोग गर्ने बताएका छन्। शुक्रबार सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
‘सरकारलाई स्याबासी नै दिनुपर्ने अवस्था आएको छैन,’ उनले भने,‘ बरु सरकारले जरैदेखि उखेल्छ भने सरकारलाई राप्रपाले समर्थन मात्र होइन सरकारलाई अफ्ठेरो पर्दा समर्थन र सत्ता टिकाउन पनि सहयोग गर्छ।’
नेपालको राजनीतिमा गर्वका साथ सिर ठाडो पारेर आँखामा आँखा जुधाएर भ्रष्टाचारविरुद्ध उभिन सक्ने एक मात्र पार्टी राप्रपा भएको उनले दाबी गरे।
लिङ्देनले प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचार विरुद्ध चालेको कदमप्रति राप्रपाको समर्थन रहेको बताए। यद्यपि आदेश दिने, बाहिर देखाउनका लागि मात्र गर्नु नहुने उनको भनाइ छ।








