नवलपुरमा रहेको मध्यविन्दु जिल्ला अस्पतालमा रेबिज विरुद्धको भ्याक्सिन अभाव हुँदा समस्या परेको छ । जिल्ला अस्पताल सहित जिल्लाका सरकारी स्वास्थ्य संस्थामा भ्याक्सिनको अभाव देखिएको हो ।
मध्यविन्दु जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा. कमलराज न्यौपानेका अनुसार अस्पतालमा रेबिज विरुद्धको भ्याक्सिन सकिएकाले यो सेवा दिन नसकिएको हो । अस्पतालमा आवश्यक भ्याक्सिन उपलब्ध नहुँदासम्म सेवा दिन नसकिने उहाँले बताउनुभयो ।
अस्पतालले सार्वजनिक सूचना जारि गरेर रेबिज विरुद्धको भ्याक्सिन अभाव भएको बताएको छ । मध्यविन्दु जिल्ला अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीका अनुसार अस्पतालमा मासिक रुपमा ३ सय भायल भ्याक्सिनको खपत हुँदै आएको थियो । भ्याक्सिन अभाव भएसँगै सेवाग्राहीहरु मर्कामा परेका छन् ।
कावासोती– ३ निवासी स्थानीय एवम् सामाजिक अगुवा रामकृष्ण पुडासैनीले यसरी जिल्ला अस्पतालमा नै भ्याक्सिनको अभाव हुनु दुःखद रहेको बताउनुभयो । कुकर वा कुनै जनावारले टोकेपछि तुरुन्तै दिनुपर्ने भ्याक्सिन अभाव हुनै नहुने उहाँले बताउनुभयो । यस्ता घटना अकस्मात हुने हुनाले कतिबेला आवश्यक पर्छ भन्न नसकिने हुँदा अस्पतालमा भ्याक्सिन मौजदाज रहनुपर्ने उहाँले बताउनुभयो ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा मार्फत प्रदेश स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्रमा भ्याक्सिन आउने र त्यहाँबाट आफूहरूले ल्याउने गरेको सूचना अधिकारी सुवेदीले बताउनुभयो । हाल त्यहाँबाट भ्याक्सिन नआउँदा समस्या भएको उहाँले बताउनुभयो । भ्याक्सिन कहिले आउने र सेवा पुनः कहिलेबाट सुरु हुने यसै भन्न नसकिने उहाँको भनाई रहेको छ ।
मध्यविन्दु जिल्ला अस्पतालका साथै जिल्लामा रेबिज विरुद्धको भ्याक्सिन चोरमारा प्राथमिक स्वास्थ्य केन्द्र, दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्र, गैँडाकोट नगर अस्पताल र डेढगाउँमा रहेको रकुवा प्राथमिक स्वास्थ्य केन्द्रबाट लगाउने गरिएको छ ।