निजगढ नगरपालिका–१ सिगौल स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा शुद्ध पिउने पानी र शौचालयको अभाव रहेको छ । २०६४ असार ३१ गतेदेखि अध्यापन गराउँदै आइरहेकी शिक्षिका सावित्रा सापकोटाले नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको “यो समस्या पुरानो रहेको” बताउनु भयो । ८ सय भन्दा बढी विद्यार्थी र २५ जना शिक्षक–शिक्षिका तथा कर्मचारीहरू रहेको यस विद्यालयमा विद्यार्थी र शिक्षक–शिक्षिका तथा कर्मचारी सङख्याको अनुपातमा शौचालयको सङख्या कम रहेको शिक्षिका सावित्रा सापकोटाले बताउनु भयो । छात्र र शिक्षकको तुलनामा छात्रा र शिक्षिकाहरू झन् बढी समस्यामा रहेको उहाँले बताउनु भयो ।
धारामा समयमा पानी नआउँदा र विद्यार्थी सङ्ख्याको अनुपातमा पर्याप्त शौचालयको व्यवस्था नहुँदा विद्यालयमा अध्यनरत विद्यार्थीहरू, शिक्षक–शिक्षिका तथा कर्मचारीहरू पानी पिउन र शौचालयका लागि घर जानु पर्ने बाध्यता रहेको कक्षा ८ का विद्यार्थी सरोज ठोकर र दिपक गोलेमले बताउनु भयो । पानी र शौचालयको लागि घर जानु पर्दा कक्षामा विद्यार्थीहरूको उपस्थिति न्यून हुने गरेको उहाँहरूले बताउनु भयो । त्यस्तै कक्षा १० मा अध्यनरत छात्र र छात्राहरू जिवन धिमिरे, जनक बाल, पुजामाया भोला र सुनिता योञ्जनका अनुसार विद्यालयमा महिला र पुरुषको लागि चार ओटा शौचालय रहेकोमा दुई ओटा शौचालय बन्द रहेको र दुई ओटा शौचालय सञ्चालनमा रहेका छन् ।
दिशा पिसाब गर्न जादा लामो लाईनमा उभिनु पर्ने र पानीको अभावले गर्दा सरसफाईमा समेत समस्या भएको उहाँहरूले बताउनु भयो । शिक्षक मछिन्द्र कोडरियाका अनुसार विद्यालयको भौतिक संरचनाहरू थपिएका छन् । तर, शौचालय र पिउने पानीको समस्या भने अहिलेसम्म विद्यमान रहेको छ । विद्यालय प्रशासन र स्थानीय तहले समेत यसको समाधान नगरेको भनी दुःखेसो उहाँले पोख्नु भयो ।
विद्यालयका प्रधानाध्यापक रामवरण यादवका अनुसार यस विद्यालयको मूल समस्या रहेका पानी र शौचालयको अभाव बारे विद्यालय व्यवस्थापन समिति, वडा अध्यक्ष, खानेपानी उपभोक्ता संस्थाका पदाधिकारीहरूलाई आफूले पटक–पटक लिखित र मौखिक जानकारी गराउँदै आएको तर अहिलेसम्म कसैले यसतर्फ ध्यान नदिएको बताउनु भयो । उहाँले भन्नु भयो “विद्यालयमा आवश्यक पानी सङ्कलनका लागि ट्याङ्कीको व्यवस्था रहेको तर खानेपानी उपभोक्ता समितिले दुई घण्टा मात्र पानीको सप्लाई गर्दा सो समस्याको समाधान हुन नसकेको” । साथै विद्यालय सञ्चालनमा रहेका दिन पाँच घण्टासम्म पानी सप्लाई गरेको खण्डमा पिउने पानीको समस्या समाधान हुने उहाँले बताउनु भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर योञ्जनले विद्यायलका लागि शैक्षिक सुधारलगायत आवश्यक खानेपानी, शौचालय र अन्य भौतिक संरचना निर्माणका लागि स्थानीय तहसँग आग्रह गर्दै आए पनि अहिलेसम्म पर्याप्त बजेट प्राप्त नभएको बताउनु भयो । आफू अध्यक्ष भएपछि पठन पाठन र विद्यालयमा केही भौतिक सुधार भएपनि पानी र शौचालयको समस्यालाई पूर्णरुपमा समाधान गर्न नसकेको उहाँले स्वीकार गर्नु भयो ।
निजगढ नगरपालिका–१ का वडाध्यक्ष मङ्गले लोप्चनका अनुसार यस स्कुलमा अरु कुनै आम्दानीको स्रोत नरहेको हुँदा, पिउने पानि तथा शौचालयका लागि वडा, नगर, प्रदेश वा सङ्घ सरकारबाट कम्तीमा ३० लाख रुपियाँ बजेटको आवश्यक रहेको बताउनु भयो । उहाँले वडा र नगरपालिकाले विद्यालयका लागि विनियोजन गरेको रकम आपसी विवादका कारण प्रयोेगमा आउन नसकेर फ्रिज भएको बताउनु भयो । वडाध्यक्ष लोप्चनले विद्यालयमा शैक्षिक सुधार भएको तर पानी, शौचालय र पर्खालको समस्या विद्यमान रहेको बताउनु भयो । आफूले सक्दो सहयोग गरेको तर आफ्नो सहयोगले मात्र विद्यालयको समग्र समस्याको समाधान सम्भव नभएको उहाँले बताउनु भयो ।
निजगढ नगरपालिका का उपमेयर सोममाया थिङ्गले यस विद्यालयमा शौचालय र पिउने पानिको समस्या बारे आफूलाई कसैले जानकारी नगराएको तर भदौको पहिलो हप्ता मात्र यस नगरपालिका भित्रका विद्याालयहरूको अनुगमन गर्ने क्रममा सो समस्या बारे जानकारी भएको बताउनु भयो । यस नगरपालिका भित्रका विद्यालयहरूमा आवश्यकता अनुसार मर्मत सम्भार, नयाँ शौचालय निमार्ण र धारामा पानीको लागि ठूलो ट्याङ्की निमार्ण गर्न यस आर्थिक वर्षमा शिक्षा क्षेत्रमा सुधारको लागि बजेट रकम छुट्याएको छ । एक महिना भित्र यी समस्याहरू समाधान हुन्छ उहाँले बताउनु भयो ।