अस्पतालमा दरवन्दी अनुसार डाक्टर नहुँदा बिरामीहरू उपचारबाट वञ्चित हुने गरेका छन् भने उपचारको लागि जिल्ला बाहिर जानु पर्ने बाध्यता रहेको छ ।
रोल्पा अस्पतालमा ११ जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको भए पनि एकजना पनि विशेषज्ञ डाक्टर छैनन् । लुम्बिनी प्रदेशको पहाडी जिल्ला रोल्पामा रहेको सरकारी अस्पताल ५० शैयाको हो । यहाँ ११ औँ तहको मेडिकल सुपरिटेण्डेन्ट सहित ११ जना विषेशज्ञ डाक्टरको दरबन्दी छ । तर उपचार गराउन जिल्ला अस्पताल पुग्ने बिरामीले समयमा उपचार पाउँदैनन् । जसकारण यहाँका बिरामीहरु सामान्य उपचारकालागि दाङ, बुटवल, नेपालगञ्ज र काठमाडौँसम्म धाउनुपर्ने बाध्यता रहेको बिरामीहरूकाे गुनासो रहेको छ ।
२०६१ मा १५ शैयाबाट सुरू भएको रोल्पा अस्पताललाई २०७७ देखि ५० शैयाको बनाइएको हो । अस्पातालमा हरेक दिन १ सयदेखि २ सय ५० जना भन्दा बढी बिरामी उपचारकालागि आउँछन् । तर अस्पताल निमित्त मेडिकल अधिकृतकै भरमा चलेको छ । अस्पतालमा कार्यरत चार जना डाक्टर मध्ये कसैको करार अवधि सकिएको र कोही राजिनामा दिएर गएपछि समस्या भएको हाे । दरबन्दी अनुसार डाक्टर नहुँदा जटिल अवस्थाका प्रसूती र शल्यक्रिया सेवा समेत बन्द भएका छन् ।
हाल आँखा पाक्ने रोगको सङ्क्रमण देशभर प्रकोपकोरुपमा फैलिरहेको छ । यस्तै रोल्पामा पनि आँखासम्बन्धी रोगको सङ्क्रमण ब्यापक मात्रामा फैलिरहेको छ । चिकित्सकहरूका अनुसार पछिल्लो समय अस्पतालमा आँखासम्बन्धित समस्या लिएर आउनेको संख्या बढेको छ । आँखा पाक्ने रोग समुदाय स्तरसम्मै फैलिएको छ तर जिल्ला अस्पतालमा आँखा तथा दाँत लगायत अन्य विशेषज्ञ चिकित्सक समेत नहुँदा बिरामीहरु मर्कामा पर्ने गरेका छन् ।
आँखा उपचारको निम्ती नीजि मेडिकलहरूबाट औषधि लिएर प्रयोग गर्न परेको स्थानीय कुशल पुन मगरले बताउनु भयो । मगरले आँखामा समस्या आएपछि आफूले उपचारको निम्ती दाङ जानुपरेको बताउनु भयो । जिल्ला अस्पतालमा ११ जना विशेषज्ञ चिकित्सकको भएपनि अहिले जिल्लामा विशेषज्ञ डाक्टर नभएको अस्पतालमा कार्यरत डा. लोकरत्ना ज्ञवालीले भन्नु भयो । अस्पतालमा जति डाक्टरहरूको दरवन्दी हो, त्यो दरबन्दी अनुसारको डाक्टरहरूको पदपूर्ति कहिले पनि नभएको ज्ञवालीको भनाइँ छ ।
सरकारले एक स्थानीय तह एक एमबिबिएस डाक्टरसहितको सुविधा सम्पन्न अस्पताल भनेर २०७७ मा देशका ७ सय ५३ वटा स्थानीय तह मध्ये ३ सय ९६ वटा स्थानीय तहमा एकैदिन शिलान्यास गर्यो । २०७८ मा पुनः २ सय ७९ वटा अस्पताल बनाउने घोषणा भयो । अस्पताल नभएको ६ सय ५५ स्थानीय तहमा ५ देखि १५ शैयासम्मका आधारभुत अस्पताल निर्माण गर्ने भनिए पनि अहिले सम्म धेरैजसो स्थानीय तहमा काम समेत पुरा भएको छैन् ।
उक्त अस्पतालहरु निर्माण गर्ने भन्दै तत्कालिन प्रधानमन्त्री केपी शर्मा वलीले देशैभरी एकैपटक डिजिटलरुपमा शिलान्यास गर्नभएको थियो । “गाउँसम्म स्वास्थ्य सेवाको पहुँच कागजमा छ,तर अस्पतालमा छैन । अस्पतालमा डाक्टर हुँदैनन् र बिरामीले उपचार पाउँदैनन् ।, ” स्थानीय कुशल पुनले भन्नु भयो ।