आफूलाई भोट नदिएको भन्दै वडाध्यक्षले एक स्थानीय बासिन्दालाई कुटेर घाइते बनाएकाे घटना बाजुरामा भएकाे छ । खप्तड छेडेदह गाउँपालिका–३ का नरबहादुर बुढालाई सोही गाउँपालिका ३ का वडाध्यक्ष बिर्ख रावतले मंगलबार कुटपिट गरेका छन् ।
स्थानीय निर्वाचन २०७९ मा आफूलाई भोट नदिएको भन्दै वडा कार्यालय नजिकै रहेको पसलमा दिउसै मदिरा सेवन गरेर वडाध्यक्ष रावतले कुटपिट गरी घाइते बनाएको पीडित पक्षको आरोप छ ।
वडाध्यक्ष रावत र उहाँका कार्यकर्ताहरु मंगलबार दिउसोदेखि नै मदिरा सेवन गरी स्थानीयहरुलाई गालिगलौज गर्दै हिडेका र साँझको समयमा धारीलो हतियार प्रयोग गरी बुवालाई मरणासन्न हुने गरी कुटपिट गरेको पीडितका छोरा टेकबहादुर बुढाले बताउनु भयो ।
स्थानीय तहको निर्वाचनमा भोट नहालेको भनेर यस अगाडि पनि पीडित बुढालाई वडाध्यक्ष रावतले पटकपटक धम्की दिदै आउनु भएको पीडितका छोरा बुढाको आरोप छ ।
वडाध्यक्ष र उहाँका कार्यकर्ताहरुको कुटपिटबाट टाउँको र शरीरका बिभिन्न भागमा चोट लागि घाइते हुनु भएका बुढाको स्वास्थ्य उपचार डोगटी स्वास्थ्य चौकीमा भइरहेको छ ।
स्थानीय पसलमा मदिरा सेवनपछि निर्वाचनका सन्दर्भमा समान्य विवाद भएको र नरबहादुर बुढाले हात टोक्दा आफूले प्रतिवाद गरेको वडाध्यक्ष रावतले बताउनु भयो ।
वडाध्यक्ष रावतले मदिरा सेवन गरी स्थानीयलाई कुटपिट गरेको सुन्नमा आएको र पीडित बुढालाई सम्पर्क गर्दा उपचारको क्रममा रहेको जानकारी दिनु भएको दोगडा प्रहरी चौकीका असई देबदत्त पन्तले बताउनु भयो । पीडित पक्षबाट अहिलेसम्म लिखिन उजुरी नआएको असई पन्तको भनाइ छ ।
घटनाका आरोपित रावत ०७९ सालमा सम्पन्न स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।