सत्तारुढ नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गिरिबन्धु टी स्टेट प्रकरणबारे तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा खतिवडाले सो प्रकरणमा ठूलो भ्रष्टाचार भएको जिकिर गर्दै सरकारले तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने बताएका हुन् ।‘हामी राजनीतिज्ञहरू निर्वाचित भइसकेपछि हाम्रो जिब्रोमा ब्रेक नलागेर जे पायो, त्यही बोल्न गइराखेका हुन्छौँ । कोही आगै ओकल्छौँ, सिंहदरबार नै ध्वस्त पार्छौं भन्छौँ । कोही जातीय राज्य चाहियो भन्छौँ । कोही धर्ममाथि आँच आउने काम गर्छौं,’ खतिवडाले भने, ‘निर्वाचित जनप्रतिनिधिहरूलाई आफ्नो जिब्रोमा ब्रेक लगाएर बोलिदिन आग्रह गर्दछु ।’
‘गिरिबन्धु टी स्टेटको बारेमा भएको भ्रष्टाचारको छानबिन गरी कारबाही अघि बढाउन अनुरोध गर्न चाहन्छु,’ खतिवडाले भने ।
निर्वाचित जनप्रतिनिधिहरूलाई जथाभावी नबोल्न पनि खतिवडाले आग्रह गरे । सिंहदरबार नै ध्वस्त पार्ने कुरा, धार्मिक स्वतन्त्रतामाथि नै आँच आउने खालको अभिव्यक्तिहरू पछिल्लो समयमा आउने गरेको उल्लेख गर्दै त्यस्ता अभिव्यक्ति नदिन जनप्रतिनिधिहरूलाई उनले सुझाव दिए ।