जिल्ला कारागार कार्यालय, खाँदवारीमा यातनापछि मारिएका दुई जना कैदीको मृत्यु घटना अनुसन्धानका क्रममा प्रहरीले कारागार कार्यालयका दुई जना कर्मचारीलाई गिरफ्तार गरेको छ ।
कैदीको मृत्यु घटनामा संलग्न भएको आरोप लागेका कारागारका कम्प्युटर अपरेटर इन्द्रनारायण यादव र कार्यालय सहयोगी ढकलाल कार्कीलाई भदौ १४ गते अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र गोदारले बताउनु भयो ।
नियन्त्रणमा लिइएका दुई जनालाई जिल्ला अदालतबाट भदौ १५ गते म्याद थपि अनुसन्धान थालिएको डिएसपी गोदारले बताउनु भयो । कैदी कुटपिटमा प्रत्यक्ष संलग्न देखिएका प्रहरी, चौकीदार र कैदीलाई कर्तब्य ज्यानमा मुद्दा दर्ता गरिएको छ ।
कैदी हत्या मृत्यु घटनामा अनुसन्धान भइरहेका प्रहरी, चौकीदार, कैदी र कारागार कर्मचारीसहित १६ देखि १९ जना विरुद्ध मुद्दा दर्ता गरेर अदातलतमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कारागारमा रहेको सिसिटिभी फुटेज अध्ययनबाट घटनामा प्रहरी, चौकीदार र कारागार कर्मचारीसहित केही कैदीको संलग्नताले देखिएको छ ।
कुटपिटबाट ०८० साउन २४ गते सङ्खुवासभाको मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको मृत्यु भएको थियो । २५ जनाको क्षमता रहेको कारागारमा अहिले १ सय ३६ जना कैदीबन्दी छन् ।
कैदी मृत्यु घटनाका विषयमा इन्सेकले ०८० साउन ३२ गते स्थलगत अनुगमन प्रतिवेदन सार्वजनिक गर्दै दुई जना कैदीको यातनाका कारण मृत्यु भएको उल्लेख गरेको छ ।