अनुसूची-८ मा स्थानीय तहको अधिकारसम्बन्धी व्यवस्था छ । संविधानको धारा ५७ को उपधारा ४, धारा २१४ को उपधारा २, धारा २२१ को उपधारा २ र धारा २६६ को उपधारा १ मा स्थानीय तहको अधिकार सूची छ । सोही अनुसार आधारभूत र माध्यमिक तहको शिक्षाको अधिकार स्थानीय तहलाई छ ।
संविधान प्रदत्त अधिकार कार्यान्वयन गर्ने क्रममा राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले हरेक स्थानीय तहलाई स्थानीय पाठ्यक्रम निर्माण गरी विद्यालयहरूमा कार्यान्वयन गर्न दिशानिर्देश गरेको छ । सोही बमोजिम जिल्लामा त्रियुगा नगरपालिकाले स्थानीय पाठ्यपुस्तक ‘त्रियुगा ज्ञानमाला’ तयार गरी पठनपाठनको सुरूआत गरेको छ ।
बालबालिकालाई स्थानीय विषयवस्तुका बारेमा जानकारी दिने उद्देश्यले यसै शैक्षिक सत्रदेखि नगरभित्रका संस्थागत र सामुदायिक विद्यालयलाई नियमित पठ्नपाठन गराउने गरी ‘त्रियुगा ज्ञानमाला’ किताब उपलब्ध गराएको छ । त्रियुगा नगरपालिकाका मेयर बसन्तकुमार बस्नेतले नगरभित्रका ऐतिहासिक, धार्मिक, सामाजिक, सांस्कृतिक, स्थानीय सीप र प्रविधि, पुशपालन र अन्य विविध विषयहरूलाई समेटेर पाठ्यपुस्तक तयार गरिएको बताउनु भयो ।
मेयर बस्नेतले भन्नुभयो, ‘बालबालिकाहरू प्रविधिमा सवल हुँदै गएका छन्, त्यसबाट धेरैले बाह्य ज्ञान लिएका छन्, तर उनीहरूसँग आफ्नो गाउँघरका रीतिरिवाज, परम्पराका बारेमा जानकारी नहुँदा त्यस्ता विषयवस्तु विस्तारै लोप हुँदै जाने भएकाले संरक्षणका लागि पाठ्यपुस्तक तयार गरेका हौँ ।’
‘विद्यार्थीलाई आफ्नै गाउँठाउँको परिवेशका चिनारी, भावनात्मक एकता गर्नुका साथै भाषा, संस्कृतिको संरक्षण गराउने नगरपालिकाको ध्यय रहेको मेयर बस्नेतले बताउनु भयो । मेयर बस्नेतले भन्नुभयो ‘पुस्तकमा नगरभित्रका १६ ओटै वडाका विशेष महत्वका विषयलाई समेटिएको छ,’ विद्यार्थीलाई आर्कषित मात्र गरेको छैन्, स्थानीय भाषा, संस्कृतिका बारेमा ज्ञानवद्र्धक विषयवस्तुको खुराक दिएको छ ।’
त्रियुगा नगरपालिका उपमेयर महेश्वरी राईले विद्यार्थीमा आफ्नो क्षेत्रका बारेमा ज्ञानआर्जन गर्ने र अपनत्व हुनेगरी स्थानीय ज्ञान, सीप र प्रविधिलाई समेटी स्थानीय पाठ्यक्रम तयार गरी लागु गरिएको बताउनु भयो ।
उपमेयर राईले भन्नुभयो ‘घोकन्ते विद्याका कारण ससाना बालबालिकाले आफू बसेको ठाउँका रहनसहनका बारेमा धेरै कुरा बुझेका छैनन्, त्यसलाई नजिकबाट बुझुन भन्ने अभिप्रायले नगरपालिकाको स्थानीय पुस्तक प्रकाशन गरेको छ, आशा छ यसलाई बालबालिकाले अवसरको रूपमा लिनेछन् ।’
कक्षा १ देखि कक्षा ५ सम्म आधारभूत तहसम्मका बालबालिकालाई लक्षित गरी ल्याइएको त्रियुगा ज्ञानमाला १ सय पूर्णाङ्कको रहेको नगरपालिकाका शिक्षा शाखा प्रमुख शिवकुमारी राउतले बताउनु भयो ।
शिक्षा शाखा प्रमुख राउतले भन्नुभयो ‘शैक्षिक सत्र सुरू हुनासाथ बालबालिकाको हातहातमा पुर्याउने योजना थियो, तर पहिलोपटकको अभ्यास भएकाले विचमा केही प्राविधिक कठिनाइ भएको छ, आगामी दिनमा यसलाई समयमा नै पुर्याउने गरी काम अघि बढाउछौँ ।’
तयार गरिएको पुस्तक मेयर बसन्तकुमार बस्नेत, उपमेयर महेश्वरी राई, नगर शिक्षा समितिका सदस्य तथा त्रियुगा नगरपालिका-३ का वडाध्यक्ष तिलक कटुवाल, वडा-४ का अध्यक्ष बद्री बस्नेत, शिक्षा शाखा प्रमुख शिवकुमारी राउतलगायतको उपस्थितिमा त्रियुगा नगरपालिका-४ बगाहामा रहेको शिवशक्ती आधारभूत विद्यालयबाट पुस्तक वितरण शुरू गरिएको छ ।
त्रियुगा नगरपालिका भित्रका १ सय १० ओटा विद्यालयलाई लक्षित गरी प्रकाशन गरिएको १३ हजार थान पुस्तक ६६ ओटा सामुदायिक विद्यालय र ४४ ओटा निजी विद्यालयलाई वितरण गरिने शिक्षा शाखाले जनाएको छ ।