तिनपाटन गाउँपालिका-१ का २५ घर बाढीपहिरोको उच्च जोखिममा परेका छन् भने केही घरमा क्षति पुगेको छ । अविरल वर्षाका कारण घर माथिबाट पहिरो खस्दा घरहरू जोखिममा परेका हुन् ।
पहिरोका कारण मानवीय क्षती हालसम्म नभएको तर चौपायाको क्षति भएको तिनपाटन गाउँपालिका-१ का वडा अध्यक्ष गोबिन्द राउतले जानकारी दिनुभयो । पहिरोका कारण नक्कले, निवुवाटार, झुँगा, सानोझुँगा, सिक्रे, जातेमा २५ घर पहिरोको जोखिममा परेको र सात घर बस्न नमिल्ने भएको उहाँले बताउनु भयो । पहिरोले गोठ पुर्दा स्थानीय टेक बहादुर रानाको एउटा भैँसी र एउटा सुङ्गुर मरेको छ । पहिरोका कारण उहाँको ३ लाख भन्दा बढीको क्षति भएको छ ।
घरमाथि पहिरो खस्दा नक्कलेका शुरेस बुर्जा, निउवुवाटारका वीरबहादुर बसेल, भुँगाका रुद्रबहादुर राउत, सिक्रेका कृष्णबहादुर रखाल, जाँतेका उष्ण बहादुर डिमडोङ, दानबहादुर सुनुवारको घर बस्न नमिल्ने गरी पहिरोले क्षति पुर्याएको वडा अध्यक्ष राउतले जानकारी दिनुभयो ।
वडामा २५ घर पहिरोको जोखिममा रहेको र उनिहरूलाई सुरक्षित स्थानमा राख्नको लागि समन्वय भई रहेको उहाँले बताउनु भयो । एउटा घर पहिरोले क्षति पुर्याएर अर्को घर हुनेहरूलाई उक्त घरमा राखिएको र अरुलाई हाल छिमेकीकोमा राखिएको उहाँले जानकारी दिनुभयो । गाउँपालिका, जिल्ला विपद व्यवस्थापन समिति सिन्धुलीसँग पनि समन्वय भई रहेको उहाँको भनाई रहेको छ ।
यस वर्षकै सबैभन्दा ठूलो वर्षा भएको र ग्रामिण क्षेत्रमा भएको अन्य क्षतिको विवरण आई नसकेको उहाँले जानकारी दिनुभयो । स्थानीय बासिन्दा जनप्रतिनिधिहरूले जोखिममा परेकाहरूको स्थलगत अनुगमन गरी उनिहरूलाई सुरक्षित स्थानमा राख्ने पहल भई रहेको उहाँले बताउनु भयो । वर्षातको क्रम अझै पनि भई रहेकाले सुरक्षित स्थानमा बस्न स्थानीय बासिन्दालाई आग्रह गरिएको उहाँले जानकारी दिनुभयो ।
गाउँपालिकाका प्रवक्ता लाल बहादुर स्याङ्तानले क्षतिको सबै विवरण आई नसकेको जानकारी दिनुभयो । पहिरोबाट प्रभावित भएकाहरूलाई आवश्यक सहयोग हुने र घर तथा पशु चौपाया क्षतिको हकमा प्रहरीको मुचुल्का र वडाको सिफारिसका आधारमा गाउँपालिकाले क्षतिपुर्ति उपलब्ध गराउने बताउनु भयो ।