मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन पोखरामा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय बैदामको टोलीले बिहीबार पोखरा-८ सिर्जनाचोकस्थित लक्ष्मी होटलमा तास खेलिरहेको अवस्थामा ७ जनालाई नियन्त्रणमा लिएको थियो ।
ती ७ जनामध्ये एक गाउँपालिका अध्यक्ष लालचन पनि हुन् । घरपझोङ-२ घर भएका ५८ वर्षीय उनको साथबाट प्रहरीले ५६ हजार ७५० रुपैयाँ बरामद गरेको थियो । लालचनले आफ्नो नाम ढाँटेर मोहन थकाली भनेका थिए ।
खालबाट प्रहरीले ४ लाख ४७ हजार ८० रुपैयाँ र ४ बुक तास बरामद गरेको थियो । जुवा खालबाट अध्यक्ष लालचनसहित होटल सञ्चालक घोरपझोङ-२ घर भएका ५७ वर्षीय इन्द्रबहादुर हिराचन, सोही ठाउँका ४६ वर्षीय नबिनप्रसाद थकाली, पोखरा महानगरपालिका-८ सृजनाचोक बस्ने ६३ वर्षीय शंकर ज्वारचन, पोखरा-९ महेनद्रपुल बस्ने ५३ वर्षीय गुन्ज हिराचन, पोखरा-१० रामबजार बस्ने ५२ वर्षीय राजु गुरुङ र रामबजार नै बस्ने ५९ वर्षीय दलबहादुर हिराचन पक्राउ परेका छन् ।
वडा प्रहरी कार्यालय बैदामका डीएसपी वेदप्रकाश जोशीले जुवाखालबाट केही व्यक्ति पक्राउ परेकाे र उनीहरूबारे अनुसन्धान भइरहेकाे जानकारी दिए । सातैजनालाई आज म्याद थप गरी अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।