पूर्वसचिव भीम उपाध्याय पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्यूरोले बुधबार साँझ उपाध्यायलाई ललितपुरबाट पक्राउ गरेको हो ।
साढे दुई वर्षअघि टिकटकमा राखेको भिडिओलाई भीम उपाध्याय (मनमौजी) नामक फेसबुक एकाउन्टबाट मानहानि र चरित्रहत्या गरेको भन्दै भरतपुर-१६ , की पूर्णिमाया गुरूङले बिहीबार चितवन प्रहरीमा उजुरी दिएकी हुन् ।
आफ्नो तस्बिर अनधिकृतरूपमा सामाजिक सञ्जालमा तस्बिर राखेर चरित्रहत्या गरिएकाले उनलाई तत्काल नियन्त्रणमा लिई कारबाही गर्न प्रहरीमा साइबर क्राइमसम्बन्धी उजुरी दर्ता गरिएको हो । भीम उपाध्यायले ती महिलाको तस्बिर राख्दै पाँच दिनअघि ‘गोरू खाने धराने’ भनेर पोस्ट गरेका थिए ।

पूर्णिमाले रमाइलोको लागि आफूले टिकटकमा राखेको भिडिओलाई स्क्रिन सट गरेर उपाध्यायले बेइज्जती गरेको र आफूमाथि गाली आइरहेको बताइन् । त्यसबाट आफू र परिवारलाई नै मानसिक यातना भएको उनले बताइन् । उपाध्यायसँगै फेसबुकमा सन्तोष रिजाल ठेगाना कैलाली भएका व्यक्तिविरूद्ध पनि उनले प्रहरीमा उजुरी दिएकी छन् ।
उनको तस्बिरमा हड्डीबाट मासु तानेर खाइरहेको जस्तो देखिन्छ । गुरुङका अनुसार साढे दुई वर्षअगाडि आफन्तको भोजमा सहभागी हुँदाको तनहुँमा लिइएको तस्बिर हो । उनीहरूले राँगाको मासु खाएका थिए । गुरूङ समुदायको भोजभतेरमा खसीबोका र राँगा अनिवार्य हुन्छ ।
उपाध्यायलाई महानगरीय प्रहरी वृत सोह्रखुट्टेको हिरासतमा राखिएको छ । सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा उपाध्याय सक्रिय रहँदै आएका छन् ।