विराटनगर महानगरपालिका–९ स्थित ग्रीनक्रस अस्पतालबाट शिशु बेचिएको घटनाका ६ जना आरोपितलाई प्रहरीले गिरफ्तार गरेको छ ।
ग्रीनक्रस अस्पतालमा प्रसूति रोग विशेषज्ञ तथा दिपेश मेडिकल हल सञ्चालक एवम् कोशी अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेण्ट डाक्टर तपेश्वरलाल कर्णसहित ६ जनालाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
अवैध सम्बन्धबाट जन्मिएका शिशुलाई डाक्टर कर्णसहित उनका सहयोगीले निसन्तान दम्पत्तिलाई बेच्ने गरेको आरोप प्रहरीको छ ।
अवैध गर्भपतन तथा शिशु बेचबिखन आरोपमा डाक्टर कर्णसहित भोजपुर हतुवागढी गाउँपालिका-४ का २७ वर्षीय गोविन्द राई, मोरङ कटहरी गाउँपालिका-२ का ४६ वर्षीया दिलमाया राजवंशी, ३० वर्षीय सूर्यनारायण राजवंशी, सिरहा, कल्याणपुर नगरपालिका-१२ का ३८ वर्षीया निर्मला यादव र ग्रीन अस्पतालकी कर्मचारी ३३ वर्षीया सुधा राजवंशी छन् ।
ग्रीनक्रस अस्पतालमा ०८० असार १४ गते गोविन्द राईकी छोरीलाई अस्पतालले गायव बनाएर बेचेको घटना बाहिरिएपछि प्रहरीले मुख्य आरोपित डाक्टर कर्णलाई भदौ २ गते सप्तकोशी अस्पतालबाट गिरफ्तार गरेको थियो ।
डाक्टरलाई गिरफ्तारपछि अनुसन्धानका क्रममा सो घटनामा सहयोगीसमेत देखिएकाले अन्यलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।








