मेरो परीक्षा लेउ !
– अम्बिका कँडेल
थाकेको छैन अझै,
भागेको छैन अझै,
अलिकति सुस्ताएको मात्रै हुँ,
हारेको छैन अझै,
नपत्याए,
मेरो परीक्षा लेउ।
हातमा ठेला,
परेपनि रोकिइन,
पसिनाले आँखा रुझाए पनि,
सुस्केरा हालिन।
पखेरामा सिँगुरी खेलेँ,
जितेरै छाडेँ।
खहरे छालसंग
गुल्टुङबाजी खेलेँ,
हारीन।
हारेको छैन,
साहससंग अझै,
नपत्याए,
मेरो परीक्षा लेउ।
खुट्टा कम्दा त ढलीन,
रगत सकिँदा त गलीन,
भएँ हुँला हुनत मलिन, तर,
सिमारेखा बाट तल झरिन।
सत्यमा ताकत छ,
बुझेको छु।
सत्य शास्वत छ,
बुझेको छु।
झुटतीर नजर सारेको छैन,
उस्तै छन रहर ,मारेको छैन।
आफुसंग कहिल्यै, हारेको छैन।
नपत्याए,
मेरो परीक्षा लेउ।
पिठ्युमा रोपेको छुरा,
निकालेर हातमा थमाएको छु।
सुने नि नराम्रा कुरा,
हाँसेर रमाएको छु।
खुशी छु ,जेजति पाएको छु।
आफ्नै मन ,मुटुसंग,
पिरती लाएको छु।
परीक्षा,धेरै लियो जिन्दगीले,
तैपनि हारेको छैन अझै।
कैयौँ आशा मारेको छैन अझै।
नपत्याए,
मेरो परीक्षा लेउ।।








