कारागारभित्र दुई जना कैदीको मृत्यु घटनामा प्रहरीसहित १२ जना विरुद्ध कर्तव्य ज्यानमा मुद्दा दर्ता गरिएको छ ।
सङ्खुवासभाको कारागारमा कैदीको हत्यामा सम्लग्न देखिएका प्रहरी, चौकीदार र कैदीसहित १२ जना विरूद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको छ ।
कारागारमा रहेको सिसिटिभी फुटेज अध्ययनबाट घटनामा प्रहरी र चौकीदारसहित केही कैदीको संलग्नता देखिएको छ ।
कैदी मृत्यु घटनामा प्रहरीसहित १२ जना विरूद्ध कर्तव्य ज्यानमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र गोदारले बताउनु भयो ।
गृह मन्त्रालयद्वारा साउन २४ गते गठित अनुसन्धान टोलीको प्रतिवेदन आएपछि थप कारबाहीको प्रक्रिया अघि बढ्ने डिएसपी गोदारले बताउनुभयो ।
जिल्ला कारागारका दुई जना कैदीको ०८० साउन २४ गते मृत्यु भएकै दिन गृह मन्त्रालयले कारागार विभागका निर्देशक कमलप्रसाद पाण्डेको नेतृत्वमा पाँच सदस्यीय छानविन टोली बनाएको थियो ।
गृह मन्त्रालयले छानविन टोलीलाई १० दिनभित्र कारागार घटनाको प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो ।
कैदी मृत्यु घटनामा प्रत्यक्ष संलग्न देखिएका पाँच जना प्रहरीलाई विभागीय कारबाहीका लागि सिफारिस गरिएको छ ।
कारागार सुरक्षा इञ्चार्ज असई लक्ष्मी चौधरीमाथि जिल्ला अदालतबाट ०८० भदौ १ गते दोस्रो पटक पुन: म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
असई चौधरीसहित ११ जना विरूद्ध कर्तव्य ज्यान मुद्दामा दर्ता गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पीडितले दिएको साउन २७ गते दिएको किटानी उजुरीका आधारमा असई चौधरीसहित कारागार निमित्त प्रमुख राजेन्द्र घिमिरेविरूद्ध जिल्ला अदालतले साउन २८ गते गिरफ्तारीका लागि अनुमति दिएको थियो ।
कारागारका निमित्त प्रमुख घिमिरेलाई हालसम्म गिरफ्तार गरिएको छैन ।
कारागारमा कैद भुक्तान गरिरहेका सङ्खुवासभा मादी नगरपालिका-५ का २० वर्षीय विनोद तोलाङी र नुवाकोटको ककनी गाउँपालिका-७ का २८ वर्षीय आकाश बलामीको साउन २४ गते बिहान मृत्यु भएको थियो ।
२५ जनाको क्षमता रहेको कारागारमा अहिले १ सय ३६ जना कैदीबन्दी छन् ।
घटनाका विषयमा इन्सेकले साउन २६ गतेदेखि साउन २८ गते स्थलगत अनुगमन गरी प्रतिवेदन सार्वजनिक गरेको छ ।
कारागारका दुई जना कैदीको मृत्यु यातनाबाट भएको इन्सेक प्रतिवेदनमा उल्लेख छ ।