जिल्लामा अपाङ्गमैत्री भवन निर्माण नभएका कारण सेवा प्रवाह गर्ने निकायबाट सेवा लिन समस्या भएको अपाङ्गता तथा अशक्त भएका व्यक्तिहरूले गुनासो गरेका छन् । रामेछापका स्थानीय तहका भवनहरू अपाङ्गमैत्री नबन्दा सेवा लिन जाने अपाङ्गता भएका नागरिक सोझै कार्यालय भित्र जानबाट वञ्चित भएको हो ।
जिल्लामा दुई ओटा नगरपालिका र ६ ओटा गाउँपालिका रहेका छन् । ती मध्ये रामेछाप नगरपालिका र मन्थली नगरपालिकाले आफ्ना प्रशासकीय भवन बनाई सकेका छन् । त्यस्तै गोकुलगङ्गा गाउँपालिकाले पनि प्रशासकीय भवन बनाई सकेको छ । उमाकुण्ड गाउँपालिकाको नयाँ भवन बन्दै छ । खाँडादेवी, सुनापति र दोरम्बा गाउँपालिकाका अस्थायी भवन छन् । लिखु तामाकोसी गाउँपालिका भाडाकै भवनमा बस्दै आएको छ ।
स्थायी भवन बनाएका स्थानीय तहका भवन पनि उपाङ्गमैत्री छैनन् । अस्थायी भवन भएका स्थानीय तहमा समेत ह्विलचियर भित्रसम्म जान संरचना छैनन् । नयाँ बनेका संरचना पनि अपाङ्गमैत्री नबन्नु अपाङ्गताप्रतिको असंवेदनशीलता भएको लोकतान्त्रिक अपाङ्ग महासङ्घ रामेछापका अध्यक्ष पुरुषोत्तम घिमिरे बताउनुहुन्छ । ‘यो अपाङ्गता भएका प्रतिको बेवास्ता हो’, उहाँले भन्नुभयो । नीय तहका प्रशासकीय भवन मात्र होइन नयाँ बनेका वडा कार्यालयका भवन समेत अपाङ्गमैत्री छैनन् । मन्थली नगरपालिकाले बनाएका वडा कार्यालयका नयाँ भवन कुनै पनि अपाङ्गमैत्री छैनन् । गोकुलगङ्गा गाउँपालिकाले ६ ओटै वडा कार्यालयका भवन बनाई सकेको छ । तर कुनै पनि भवन अपाङ्गमैत्री छैनन् । अन्य स्थानीय तहले बनाएका वडा कार्यालय पनि अपाङ्गमैत्री छैनन् ।
मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ भवन बनाउने बेलामा सो कुराको ख्याल नगरिएको बताउनहुन्छ । त्यसैले अपाङ्गता भएकाले आफूसँग भेट गर्न सकुन् भनेर आफू भवन सबैभन्दा तल्लो तलामा बस्ने गरेको उहाँले बताउनु भयो । ठूला ठूला भवन बन्दा पनि ह्विलचियर जान नसक्ने तथा भेट्नु पर्ने कर्मचारीहरू तीन/चार तला माथि बस्दा त्यहाँसम्म पुग्न ज्येष्ठ नागरिकलाई समेत गाह्रो हुने ज्येष्ठ नागरिक सङ्घ, रामेछापका अध्यक्ष नारायणदास श्रेष्ठले जानकारी दिनुभयो