मध्यपुरथिमि नगरपालिका-२, सानोठिमी स्थित बलात्कार गरेको कसुरमा बालसुधार गृहको थुनामा रहेका रामेछापको मन्थली नगरपालिका-३, कठजोरका २१ वर्षीय कमल बस्नेतको ०८० भदौ ३ गते मृत्यु भएको छ ।
पाँच वर्षीया बालिकालाई ०७७ जेठ ११ गते बलात्कार गरेको भन्दै पीडित पक्षले बस्नेतविरूद्ध जेठ १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । प्रहरीले बस्नेतलाई गिरफ्तार गरी जेठ २९ गते जिल्ला अदालत रामेछापमा मुद्दा दर्ता गरेकोमा सोही दिनको आदेशले बस्नेत सानोठिमीस्थित बालसुधार गृहमा रहनुभएको थियो ।
जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकका अनुसार ज्वरो आयो भन्दै बाल सुधार गृहमा भदौ ३ गते राती औषधि मागेर खाएका बस्नेत भदौ ४ गते बिहान हेर्दा बेहोस भएको देखेपछि बालसुधार गृहका कर्मचारीले उहाँलाई उपचारका लागि नजिकैको नागरिक सामुदायिक अस्पतालमा लागेका थिए । डिएसपी पाठकका अनुसार बस्नेतको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जानकारी दिएको थियो । मृतक बस्नेतको शव पोष्टमार्टमका लागि भक्तपुरस्थित काठमाडौँ मेडिकल कलेजमा पठाइएको डिएसपी पाठकले इन्सेकलाई जानकारी दिनुभयो ।
बालसुधार गृहभित्र रहेका बस्नेतको मृत्यु भएपछि मृतकका परिवार तथा आफन्तले घटनाको निष्पक्ष छानबिन गर्नु पर्ने, दोषीलाई कारबाही गर्नुपर्ने र क्षतिपुर्ती दिनुपर्ने माग गर्दै सुधारगृह घेराउ गरेका थिए । पीडित परिवारजनको मागबमोजिम भदौ ३ गते भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले घटनाबारे यथार्थ बुझ्न सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्रप्रसाद निरौलाको नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।
समितिमा सहायक प्रमुख जिल्ला अधिकारी निरौलाको नेतृत्वमा प्रहरी परिसर, भक्तपुरका डिएसपी बसन्त पाठक, जिल्ला प्रशासन कार्यालयका अधिकृत अशोककुमार पोखरेल सदस्य सचिव र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अधिकृत प्रतिनिधि सदस्य रहेका छन् । समितिलाई सत्यतथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ ।