नाम्खा गाउँपालिका–६ लिमीका स्थानीयले १० महिनादेखि खाद्यान्न पाएका छैनन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा,हुम्लाले अघिल्लो आर्थिक वर्षमा विनियोजित कोटाको खाद्यान्न ढुवानी गर्न नसकेपछि लिमीका स्थानी १० महिनादेखि खाद्यान्न पाउनबाट बञ्चित भएको स्थानीय निमारिन्जिन तामाङले गुनासो गर्नुभयो ।
दुई सय क्विन्टल खाद्यान्न ०७९ असोज महिनामा लिमीमा शाखाले पठाएको भए पनि त्यस यता अहिले सम्म चामल ढुवानी हुन नसकेको तामाङले बताउनु भयो । लिमिटेडको खाद्यान्न नपुगेको बताउँदै लिमिटेडको लिमी बिक्री केन्द्रका लागि निर्धारित कोटाको खाद्यान्न पाँच सय क्विन्टल मध्ये दुई सय क्विन्टल मात्रै पुगेको र अन्य तीन सय क्विइन्टल खाद्यान्न लिमीमा नपुगेको उहाँले बताउनु भयो ।
स्थानीयले पटक पटक जिल्ला प्रशासन कार्यालय मार्फत खाद्यान्नको व्यवस्थाका लागि माग गरिएको भए पनि हालसम्म सुनुवाइ हुन भएको छैन । बिक्री केन्द्रको खाद्यान्न लिमीमा नपुगेपछि हाल लिमीमा खाद्यान्न समस्या देखिएको लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले बताउनु भएको छ । जसका कारण लिमीका तीन गाउँ तील, हल्जी र जाङ गाउँका २ सय १३ घरधुरीका १ हजार २ सय स्थानीय नागरिक खाद्य सम्प्रभूताको अधिकारबाट वञ्चित भएको अध्यक्ष तामाङको भनाइ छ ।
निर्धारित कोटाको सबै खाद्यान्न पुर्याउन नसकिएको स्वीकार गर्दै हिउँमा हिमपातका कारण खाद्यान्न ढुवानी गर्न नसकिएको र हाल शाखासँग समेत खाद्यान्न मौज्दात कम भएको कारण खाद्यान्न पुर्याउन नसकिएको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखाका प्रमुख कृष्णप्रसाद आचार्यले बताउनु भयो । अब काठमाडौँबाट केरुङ नाकाबाट तिब्बत हुँदै ढुवानी गर्न लागिएको र सो खाद्यान्न मध्य लिमीको बाँकी रहेको कोटाको खाद्यान्न हिल्साबाटै वितरण गरिने उहाँले प्रतिक्रिया दिनुभयो ।








