नियमित हवाई सेवा नहुँदा थप उपचारका लागि जिल्ला बाहिर लैजानुपर्ने बिरामीलाई समयमा सुविधा सम्पन्न अस्पतालमा पुर्याउन नसक्दा एक महिनामा चार जना बालकले ज्यान गुमाउन पुगेका छन । हुम्लामा पछिल्लो समय हवाई सेवा प्रभावित भएपछि समयमा स्तरीय अस्पतालमा पुर्याउन नसक्दा चार बालकको ज्यान गएको परिवारहरूले आरोप लगाएका छन ।
नेपाल नागरिक उड्यन प्राधिकरणले हिमाली जिल्लामा साढे १२ बजेपछि उडान गर्न नपाइने नयाँ नियम लगाएपछि हुम्लामा हवाई सेवा प्रभावित भएको छ । यो समय हुम्लामा बिहान मौसम खराब रहने र प्राधिकरणको नयाँ नियमअनुसार साढे १२ बजेपछि उडान गर्न नपाइने भएकाले बिरामी लगायत अत्यावश्यक कामले जिल्लाबाहिर जानुपर्ने व्यक्तिहरू बढी समस्यामा परेका छन ।
जिल्ला अस्पतालले उपचार हुन नसक्ने भन्दै रिफर भएका सिमकोट गाउँपालिका–६ का सुरज सुनारका ६ महिनाका छोरा इमरान सुनारलाई समयमा स्तरीय अस्पतालमा पुर्याउन नसक्दा उनको मृत्यु भएको सुरज सुनारले बताउनु भयो ।
बालकलाई निमोनिया, झाडापखाला र जटिल खाले संक्रमण भएपछि अस्पतालले साउन १८ गते जिल्लाबाहिर रिफर गरेका थियो । त्यसयता हवाई सेवा अवरुद्ध भएकाले थप उपचार गर्न नपाउँदा बालकको साउन २६ गते मृत्यु भएको थियो । त्यसैगरी साउन १८ गते जिल्ला अस्पतालमा भर्ना भएका सिमकोट गाउँपालिका–७ स्थित ग्वालेखोरकी लालकला शाहीका ६ महिनाका छोरा रोहितको साउन २४ गते मृत्यु भएको थियो । रोहितलाई अस्पतालले जिल्लाबाहिर रिफर गरेको थियो ।
त्यस्तै, अस्पतालले उपचारका लागि जिल्लाबाहिर रिफर गरेका खार्पुनाथ गाउँपालिका–१ का १७ महिनाका आर्यन परियारको साउन ७ गते मृत्यु भएको थियो भने चंखेली गाउँपालिका–४ का पाँच वर्षीय बालक सन्देश लुवारको पनि उपचार अभावमा मृत्यु भएको जिल्ला अस्पतालका निमित्त कार्यालय प्रमुख सरिता बोहराले बताउनु भयो । उहाँका अनुसार जिल्ला अस्पतालमा स्रोतसाधन अभाव र समयमा हवाई उडान नभएकै कारण चार जना बालबालिकाहरुको मृत्यु भएको हो ।
सडक सञ्जालले नजोडिएको हुम्ला जिल्लामा नियमित उडान नहुँदा बिरामीदेखि अन्य व्यक्तिलाई आवतजावतमा समस्या हुने गरेको हुम्लाका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिनु भयो । हवाई सेवालाई सुचारु गर्न प्रयास गरिरहेको उहाँको भनाइ छ । प्राधिकरणले उडान पहिलेकै समयमा गर्ने आश्वासन दिएपनि अहिले सम्म कार्यान्वयन नभएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।