कनका सुन्दरी गाउँपालिका– ५ लुड्कुकी १३ वर्षीया ममता बुढाले उपचार खर्च जुटाउन नसक्दा ०७९ माघ २५ गते ज्यान गुमाउनु भयो । बायाँपट्टिको फोक्सो सुकेको, टाउकोमा पानी जमेर इन्फेक्सन भएको र दायाँपट्टिको शरीर चल्न छोडेकोलगायतका स्वास्थ्य समस्यासँग लडिरहेकी ममता कोहलपुर मेडिकल कलेजको आइसियूमा उपचाररत रहेका बेला उहाँको मृत्यु भयो । आर्थिक अवस्था कमजोर भएकै कारण थप उपचार हुन नसक्दा उहाँको मृत्यु भएको आफन्त बताउँछन् । उहाँका बुबा र आफन्तले सहयोगका लागि अपिल गर्नु भएको थियो । तर, उहाँको उपचारका लागि सहयोग जुट्न सकेन ।
दुर्गम जिल्ला जुम्लाको विकट सिँजाबाट उपचारका लागि निजी अस्पतालमा पुग्दा ममताका आफन्तले अस्पतालले तोकेको खर्च व्यहोर्न सकेनन् । ममताका मामा सन्तोष बोहोराका अनुसार डाक्टरहरूको सल्लाहअनुसार उहाँलाई भेन्टिलेटरमा राखेर उपचार गर्न सल्लाह दिएका थिए । ‘भेन्टिलेटरमा प्रतिदिन १४ हजारभन्दा बढी खर्च लाग्ने रहेछ,’ उहाँले भन्नुभयोे, ‘त्यही खर्चको जोहो नहुँदा भान्जीको ज्यान गयो ।’
गाउँले साथीभाइको सहयोगमा आइसियूमा राखेर उपचारपछि पनि ममताको होस नखुलेपछि डाक्टरले भेन्टिलेटरमा राख्न भनेका थिए । भेन्टिलेटरमा राखेर उपचार गर्न नसक्दा ममताले मृत्युवरण गर्नुपरेको बोहोराले बताउनु भयो । छोरीले उपचार भारत गएर परिवार चलाउँदै आएका ममताका बुबा खुमबहादुर बुढाले उपचारमा खर्च गर्न नसक्दा छोरी गुमाउनुपरेको पीडापछि उहाँ अझैसम्म सम्हालिन सक्नु भएको छैन ।
यस्तै गरी , गुठीचौर गाउँपालिका– ५ गज्याङकोटका ५० वर्षीय कमानसिंह परियारले आर्थिक अभावका कारण उपचार नपाएरै ज्यान गुमाउनु पर्यो । उहाँको ०७९ चैत ३ गते निधन भएको हो । उहाँका दुवै मिर्गौला फेल भएका थिए । पाँच महिनाअघि परिवारसहित रोजगारीका लागि छिमेकी मुलुक भारत गएका परियारका दुवै मिर्गौलाले काम गर्न छोडे ।
भारतमै उपचार गराउन नसकेपछि मिर्गौलापीडित कमानसिंहको परिवार ०७९ फागुन २५ गते जुम्ला आइपुग्नु भएको थियो । दुई छोरी, एक छोरा र पत्नीसहित जुम्ला पुगेको वडाध्यक्ष इन्द्र बुढाले बताउनु भयो । उहाँले भन्नुभयो– आर्थिक अभावका कारण घरमै मिर्गौलापीडित परियारको छटपटाएर निधन भयो भारतको हिमाचल प्रदेशको कटगाँउबाट आफ्नै जन्मभूमिमा मृत्युवरण गर्ने निधो गरी घर फर्किनु भयो ।
चन्दननाथ नगरपालिका– ३ डाँडाकोटका २६ वर्षीय राजन नेपाली उपचार खर्च जुटाउनै मुस्किल भइरहेको बताउनु भयो । उहाँ विगत सात वर्षदेखि थला पर्नु भएको छ । आफूसँग भएको धेरथोर रकमबाट सकेको उपचार गर्नुभयो । पैसा खर्च हुँदै गयो । धन–सम्पत्ति नासिँदै गयो । तर, उहाँलाई निको भएन । झन् कमजोर हुँदै जानु भयो । जेनतेन अहिले उहाँले उपचार गरिरहनु भएको छ ।
तातोपानी गाउँपालिका– २ डाँगीका ३४ वर्षीय मानबहादुर खत्री विगत डेढ वर्षदेखि मिर्गौलासम्बन्धी गम्भीर समस्याबाट ग्रसित हुनु भएको थियो । आर्थिक अभावले केही महिना घरमै थला पर्नु भयो । गाउँले सहयोग उठाएर काठमाडौँं हुँदै भारतको लखनउसम्म लिएर उपचार गराउनु भयो । मिर्गौलामा समस्या आइसकेकाले प्रत्यारोपणको विकल्प नरहेको डाक्टरले सल्लाह दिएपछि घरपरिवारले प्रत्यारोपणको लागि खर्च जोहो गरेतापनि सम्भव भएन । मिर्गौला दिने मान्छेकै खोजीमा रहेका खत्रीका दम्पतीलाई एक अवसर आयो, मिर्गौला दिएर, मिर्गौला हाल्ने ।
दाङकी सोफिया श्रेष्ठलाई पनि मिर्गौला प्रत्यारोपण गर्नुपर्ने थियो । प्रत्यारोपण केन्द्रले क्रसम्याच गर्दा खत्रीकी पत्नी ललिता रोकायाले सोफिया श्रेष्ठलाई मिर्गौला प्रत्यारोपण गरेको खण्डमा खत्रीलाई मिर्गौला पाइने भयो । आफ्नो पत्नीको जीवनरक्षाका लागि मानबहादुरकी पत्नी ललिता सोफियालाई मिर्गौला दिन तयार हुनु भयो । उहाँले सोफियालाई आफ्नो मिर्गौला प्रत्यारोपण गरेपछि दाङका विकल्प पोखरेलले डेढ वर्षदेखि थलिएका मानबहादुर खत्रीलाई मिर्गौला दिनु भयो । गत साता सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा खत्रीलाई मिर्गौला प्रत्यारोपण गर्नुभयो । अहिले दुवै पति पत्नी उपचारमै छन् । तर, उपचार खर्चको चरम अभाव भएको छ ।
‘मिर्गौला प्रत्यारोपणमै ऋण गरेको आठ लाख रुपियाँ सकियो । अझै आइसियूमै छन् । कुरुवा भीम कार्कीले भन्नुभयो, ‘मिर्गौला प्रत्यारोपणका लागि ऋण जोहो गरेको आठ लाख रुपियाँ सबै सकियो । खल्तीमा चिया खाने पैसासमेत छैन । अस्पतालमा अझै एक महिनाभन्दा बढी राख्ने कुरा छ । कसरी खर्च चलाउने ? एक दिनमै १० देखि १२ हजार रुपियाँको औषधि किन्नुपर्छ ।’
खाने, बस्ने त परै जाओस् औषधि–उपचारका लागि मात्रै कम्तीमा ५–६ लाख रुपैयाँ खर्च हुने देखिन्छ । औषधि किन्नसमेत समस्या भएको कुरुवा कार्कीले बताउनु भयो । मिर्गौला प्रत्यारोण गरिएका मानबहादुर खत्री र उहाँकी पत्नी ललिताको थप उपचारका लागि आर्थिक अभाव भएपछि उपचार खर्चका लागि आमनागरिकलाई सहयोग गर्न आग्रह गरेका छन् ।
चन्दननाथ नगरपालिका– १० बोहोरागाउँकी ११ वर्षीया मिर्गौलापीडित सुस्मिता सार्कीलाई बचाउन उहाँको परिवारले सहयोगको आग्रह गरेका छन् । उहाँको दुवै मिर्गौलामा गम्भीर समस्या देखिएको छ । सुस्मिता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारपछि थप उपचारका लागि काठमाडौंस्थित कान्ति बाल अस्पतालमा हुनु हुन्छ ।
घरको आर्थिक अवस्था कमजोर भएकाले काठमाडौंमा उपचार गर्न समस्या भएको बिरामीका आफन्त बताउँछन् । सुस्मिताका बुबा जनक नेपालीले घरको आर्थिक अवस्था कमजोर रहेकोले छोरीको उपचारमा सहयोग गरिदिन अपिल गर्नु भएको छ । चन्दननाथ नगरपालिका– १० सिलाम गाउँकी लालकौरा योगीलाई ब्लड क्यान्सर भएर काठमाडौंको पाटन अस्पतालमा उपचाररत हुनुहुन्छ । थप उपचारका लागि आर्थिक समस्या भएकोले सबैले सहयोग गर्न उहाँका पति खुम्बीलाल कुँवरले याचना गर्नु भएको छ ।
उपचार खर्च नै नभएर धेरै बिरामी समस्यामा परेका छन् । उनीहरूको उपचारका लागि लामो समयदेखि धेरै बिरामीका लागि सहयोगको क्याम्पियन चलाउँदै आउनु भएको सामाजिक अभियान्ता पत्रकार सागर परियारले भन्नुभयो– स्वास्थ्य सेवा निःशुल्क नभएकै कारण यस्तो भएको हो । धेरै बिरामीले उपचार खर्च जुटाइदिन आग्रह गर्दै आएका छन् ।
धेरैथोरै भए पनि उपचार खर्च जुटाएर बिरामीलाई सहयोग गर्ने गरिएको उहाँले बताउनु भयो । उहाँले भन्नुभयोे, ‘निःशुल्क उपचार गर्ने राज्यको दायित्व हो । तर, नेपालमा सरकारी अस्पतालभन्दा पनि निजी अस्पताल धेरै भएका कारण उपचारका लागि बिरामीले मोटो रकम खर्चिनुपर्ने बाध्यता छ ।’ संविधानले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने अधिकार प्रदान गरे पनि उपचारको पहुँचबाट टाढा रहेका नागरिकले अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता रहेको नागरिक अगुवा राजबहादुर महतले बताउनु भयो







