मलङ्गवा नगरपालिका–१२ गम्हरीया की ४२ वर्षीया लिलमदेवी पासवानलाई सोही ठाउँका ४९ वर्षीया निर्मलादेवी यादव, २८ वर्षीया छोरी सुशिला देवी यादव, २५ वर्षीया छोरी रविता कुमारी यादव र २८ वर्षीया बुहारी नगियादेवी यादवले जातीय छुवाछुत तथा दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलङ्गवामा साउन ३० गते उजुरी दिएका छन् ।
मलङ्गवा नगरपालिका–१२ गम्हरीया स्थित पासवान टोलदेखि उत्तरतर्फ रहेको कुलोमा साउन ८ गते कपडा सफा गर्न गएका पीडित पासवानले आरोपित यादवको भाडो छोएको निहुँमा आरोपित रविता कुमारी यादवले “त पासवान दुसाद जाती भएर किन मेरो पानी थाप्ने भाँडो छोएको” भनि गालीगलौज तथा अमानवीय व्यवहार गर्नुका साथै निर्मलादेवी राय र सुशिलादेवी यादवसमेतले कुटपिट गरेको पीडित पासवानले बताउनु भयो ।
कुटपिटबाट घाइते भएका पीडित पासावनको घाउजाँच साउन ३१ गते जिल्ला अस्पताल मलङ्गवामा गरिएको छ । आरोपितहरूलाई गिरफ्तार गरिएको छैन भने घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका डिएसपी कैलाश राइले जानकारी दिनु भयो ।







