श्रमिकहरुले प्रतिघण्टा ९५ रुपैयाँ न्युनतम पारिश्रमिक पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्धारण गरेको पारिश्रमिक बिहीबार राजपत्रमा प्रकाशित गरेसँगै श्रमिकले एक घण्टा काम गरे ९५ रुपैयाँ पाउने भएका हुन् ।
जसअनुसार वृद्धि भएको पारिश्रमिकमा औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको मासिक न्यूनतम पारिश्रमिकमा १० हजार आठ सय २० आधारभूत पारिश्रमिक र छ हजार चार सय ८० महँगी भत्ता रहेको छ ।
यस्तै, प्रतिघण्टा ८९, दैनिक छ सय ६८ र आंशिक समय मात्र काम गर्ने श्रमिकको प्रतिघण्टा ९५ पारिश्रमिक निर्धारण गरिएको हो । यस्तै श्रमिकले मासिक १७ हजार तीन सय न्युनतम परिश्रमिक पाउनेगरी पारिश्रमिक निर्धारण गरिएको छ ।
श्रमिकको प्रतिघन्टाको ज्याला ८९ रुपैयाँ कायम गरिएको छ । जसमा आधारभूत ज्याला ५६ रुपैयाँ तोकेको छ भने महँगी भत्ताबापत ३३ रुपैयाँ तोकेको छ । साथै, आंशिक रूपमा काम गर्ने श्रमिकको प्रतिघन्टा आधारभूत पारिश्रमिक ९५ रुपैयाँ तोकेको छ । साथै, सरकारले तोकेको ज्यालाभन्दा कम हुने गरी कसैले श्रम सम्झौता गर्न नहुने सरकारले बताएको छ । सरकारले तोकेको यो ज्याला चियाबगानका श्रमिकको हकमा भने लागू हुनेछैन ।
सरकारले प्रत्येक दुई वर्षमा श्रमिकको पारिश्रमिक परिमार्जन गर्दै आएको छ । दुई वर्षअगाडि नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ तोकिएको थियो । जसअनुसार आधारभूत पारिश्रमिक नौ हजार तीन सय ८५ रुपैयाँ हो भने पाँच हजार ६ सय १५ महँगी भत्ता हो ।
श्रम मन्त्रालयले गत असारमा नै श्रमिकको परिश्रमिक बढाउन पारिश्रमिक निर्धारण समिति गठन गरेको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डण्डुराज घिमिरेको संयोजकत्वमा गठिन समितिमा विभिन्न श्रमिक संगठन तथा व्यवसायीहरूको उपस्थित थियो ।
उपर्युक्त पारिश्रमिकका अतिरिक्त श्रम ऐन–२०७४, योगदानमा आधारित सामाजिक सुरक्षा–२०७४, श्रम सम्झौता, नियुक्ति पत्र र श्रमिकले पाउने सञ्चय कोष, उपदानलगायतका सुविधा अनिवार्यरुपमा हुनुपर्ने राजपत्रमा उल्लेख छ ।








