सिगास गाउँपालिका–६ स्थित कौसाडीमा शुद्ध पिउने पानीको चरम अभाव हुँदा यहाँको सिङ्गो दलितबस्ती समस्यामा परेको छ । कौसाडीस्थित दलितबस्तीका नागरिकहरुले विगतदेखिनै शुद्ध पिउने पानीको चरम अभाव झेलिरहेका छन् ।
१२ दलित परिवार बस्ने यो वडामा सधै पिउने पानीको अभाव हुने गरेको स्थानीय भीम नेपालीले बताउनु भयो । उहाँले भन्नु भयो ‘पानी अभावका कारण आकाशे पानीको भर पर्नु पर्ने बाध्यता छ ।’चुनावका बेला शुद्ध पिउने पानीको व्यवस्थापन गर्ने आश्वासन दिने गरिएको भए पनि समस्या समाधानमा कसैको चासो नभएको र करिब एक घण्टाको दुरीमा रहेको न्वालोमा पनि प्रयाप्त पानी नभएकाले आफूहरुलाई धेरै समस्या हुने गरेको उहाँको भनाइ छ ।
पिउने पानीको अभावमा न्वालोको दुषित पानी पिउन बाध्य हुनु परेको स्थानीय राजेन्द्र नेपालीले बताउनु भयो । उहाँले भन्नु भयो ‘न्वालामा पनि पर्याप्त पानी हुदैन, पानी कम हुँदा धमीलो भएको पानीनै भए पनि ल्याएर पिउन बाध्य छौँ ।’ पानीको अभावका कारण यस बस्तीका महिलाहरुलाई समेत समस्या भएको छ । पानी भर्ने जिम्मेवारी समालेका महिलाहरुले पानी बोक्नमै दिन विताउनु पर्दा बालबालिकाको स्याहार समेत गर्न नपाएको स्थानीय राधा नेपालीले गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो– ‘हाम्रो त मुख्य जिम्मेवारीनै पानी भर्ने छ । न्वालोको पानी ल्याउन पालो कुरेर समेत पानी पाउन मुस्किल हुन्छ । अब यो वर्षाको समयमा जहाँ पानीको मुल फुट्यो त्यही खोलाबाट पानी ल्याउनु पर्ने बाध्यता छ ।’ गाउँपालिकाका अध्यक्ष हरिशसिंह धामीले कौसाडीबस्तीमा पिउने पानीको समस्या भएकोले यो आर्थिक वर्ष भित्रै कौसाडीबस्तीमा शुद्ध पिउने पानी पुग्ने गरी योजना बनाइएको बताउनु भयो । सिगास गाउँपालिका ६ का वडाध्यक्ष तेजबहादुर साउदले पनि पिउने पानीको समस्या समाधानका लागि पहल भइरहेको बताउनु भयो ।







