काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगका उपाध्यक्ष तपेन्द्र खड्काले राजीनामा दिएका छन् ।
योजनाको काममा लाग्नुपर्ने बेला उपाध्यक्षले लामो विदा मागेपछि उनीसँग राजीनामा माग गरिएको बालेनका स्वकीय सचिव भूपदेव शाहले अनलाइनखबरलाई बताए । ‘आर्थिक वर्ष सुरु भएको केही दिनमात्रै भएको छ, योजनासम्बन्धी धेरै काम गर्ने बेला उहाँले लामो समय विदा मागेपछि, राजीनामा कै कुरा भएको हो’, शाहले भने ।
खड्कालाई २६ पुसमा काठमाडौं महानगरपालिकाले योजना आयोगको उपाध्यक्षमा नियक्त गरेको थियो । उनले ७ महिनामै राजीनामा दिएर बाहिरिएका छन् ।खड्काले अघिल्लो साता पारिवारिक कामले लामो छुट्टी मागेका थिए । तर, मेयर बालेन शाहले लामो छुट्टीमा बस्नुभन्दा राजीनामा नै दिन दबाब दिएपछि उनले गत शुक्रबार राजीनामा बुझाएका हुन् ।








