हुम्ला जिल्लाका सामुदायिक विद्यालयहरु तीनदिन देखि बन्द हुँदा पठनपाठन प्रभावित भएको छ । राष्ट्रिय शिक्षक महासंघको सर्कुलर अनुसार शिक्षकहरुले साउन २८ गतेदेखि गाउँपालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय इकाई कार्यालयमा धर्ना दिने कार्यक्रममा सहभागी हुन गएपछि विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।
शिक्षकका विशेष मुद्दालाई सम्बोधननै नगरी संघीय शिक्षा ऐन ल्याउन लागिएको भन्दै देशभरका शिक्षकहरुको छाता संगठन राष्ट्रिय शिक्षक महासंघको कार्यक्रम अनुसार साउन २८ गते गाउँपालिकामा, साउन २९ गते जिल्ला प्रशासन कार्यालयमा र साउन ३० गते शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना दिएका छन् ।
तीनदिनदेखि शिक्षकहरू धर्ना दिने कार्यक्रमा गएपछि विद्यालयमा पठनपाठन नभएको सिमकोट गाउँपालिका – ६ स्थित मानसरोवर माध्यमिक विद्यालयका कक्षा ११ मा अध्यायनरत छात्रा प्रगति शाहीले गुनासो गर्नु भयो । उहाँका अनुसार लगातार तीनदिन विद्यालय बन्द गरी शिक्षकहरु धर्नामा उत्रिएपछि विद्यालयमा पुगेर फर्कनु परेको बताउनु भयो । शिक्षकहरुको धर्ना कार्यक्रमले विद्यालयको पठनपाठन हुन नसकेको सोही विद्यालयका कक्षा ११ मा अध्ययनरत छात्रा कोपिला शाहीले गुनासो गर्नु भयो ।
नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबिच भएका ३० बुँदे र ५१ बुँदे सहमतिका बुँदाहरू उचित ढंगले नसमेटिएको भन्दै चरणबद्ध रुपमा धर्ना कार्यक्रम गर्न लागिएको शिक्षक महासंघ हुम्लाका अध्यक्ष बिष्णु बोहराले बताउनु भयो ।
स्थायी, करार, राहत, साविक उमावि, बालविकास शिक्षा, शिक्षण जस्ता विद्यालयका माग बुँदामा समेटेर स्थानीय सरकारलाई ज्ञापनपत्र समते बुझाइएको शिक्षक जुनराज हमाले बताउनु भयो । शिक्षक काली बहादुर शाहीले पेन्सन पट्टा पाउने २०७५ भन्दा पहिला जे थियो त्यहि कायम गर्नुपर्ने, शिक्षक पेसालाई सम्मान गर्नुपर्ने माग राखेको बताउनु भयो । शिक्षक जयदेवी शाहीले यदि शिक्षकको माग पूरा नभए प्रदेश हुँदै केन्द्रसम्म विद्यालय बन्द गरेर पनि आन्दोलनमा जाने चेतावनी दिनु भयो ।
शिक्षक कैलाश रोकायाले २०८० साउन २८ गतेको निर्णय अनुसार हुम्लाका सात ओटा स्थानीय तहलाई ३० बुँदे र ५१ बुँदे पत्र पेस गरी धर्ना बसेको बताउनु भयो । शिक्षकहरु पहिलो चरणको आन्दोलनकाे कार्यक्रममा सहभागी भएपछि जिल्लाभरको विद्यालयमा पठनपाठनमा प्रभावित भएको छ ।