धादिङकाे गङ्गाजमुना गाउँपालिका-१, रिगाउँमा जमिन भासिएपछि ५० परिवार ०८० साउन २९ गतेदेखि विस्थापित भएका छन् । गाउँ नै पहिरोमा पर्ने गरी जमिन भासिएकोले रिगाउँबासी साउन २९ गते बिहानबाट गाउँ छाडेर नजिकैको छिमेकीको घरमा आश्रय लिन पुगेका हुन् ।
एक मिटरदेखि पाँच मिटरसम्म जमिन फाटेर बस्ती माथीबाट जमिन भासिन थालेपछि तलका घरहरू खाली गरिएको छ । गाउँ माथिको भागबाट गाउँ नै पहिरोमा पर्ने गरी जमिन भासिएपछि ५० घर परिवार विस्थापित भएको कारण उक्त परिवारलाई छिमेकीको घरमा र नजिकैको विद्यालयको भवनमा राखिएको गङ्गाजमुना गाउँपालिका-१ का वडा अध्यक्ष बहादुरसिंह तामाङले बताउनु भयो ।
२०७२ सालको भुकम्पपछि भुगर्भ विदले समेत बस्न अयोग्य भनेको थियो । तीन दिनदेखि लगातारको वर्षाले गाउँ नै पहिरो जाने गरी धाँजा भासिएकोले रिगाउँ असुरक्षित भएको स्थानीय प्रकाश तामाङले बताउनु भयो । ‘विस्थापित भएकासँग घरबाट निकालिएको खाना त छ, बस्नका लागि त्रिपाल कपडा लगायतका सामाग्री छैन’, तामाङले भन्नुभयो । केही मानिस गाउँमा आश्रय लिएर बसिरहेका छन् भने केही सुरक्षित मानिएको बारीमा बसेका छन् ।
रेडक्रस सोसाइटी र स्थानीय सरकारले त्रिपाल उपलब्ध गराउने भने पनि उपलब्ध नहुँदा समस्यामा परेको स्थानीय पूर्ण तामाङले जानकारी दिनुभयो । ज्येष्ठ नागरिक र बालबालिकालाई सुरक्षित स्थान तर्फ सारिएको र सकेको अन्नपात, लत्ताकपडा र आवश्यक सामानहरू घरबाट निकालेर सुरक्षित स्थानतर्फ लगिएको वडा अध्यक्ष तामाङले जानकारी दिनुभयो । अहिले त्यहाँका स्थानीयले घरायसी सरसामान र वस्तु भाउलाई सुरक्षित स्थानतर्फ सारिरहेका छन् । जोखिममा परेका ६२ घरमध्ये ५० परिवार सुरक्षित तरिकाले राखिने व्यवस्था मिलाइएको स्थानीय खसार्की तामाङले जानकारी दिनुभयो ।
चार सय विद्यार्थी अध्यायन गर्ने रिगाउँ मावि पानी पर्न नरोकिएसम्मका लागि विद्यालय समेत बन्द गरिएको छ । कुनै पनि बेला पहिरो झर्न सक्ने जाखिम उच्च भएपछि रिगाउँ माविको पठनपाठन बन्द गरिएको वडा अध्यक्ष तामाङले बताउनु भयो । स्कुलको दुई ओटा भवन मध्ये २० कोठे नयाँ भवन पनि जोखिमा रहेको छ । दुई वर्ष अघि निर्माण गरिएको खानेपानीको ट्याङ्की पनि बगाउने जोखिम छ ।
गाउँमाथि ६० मिटरभन्दा बढी फराकिलो भएर भासिएपछि गाउँमा बस्न नसकिने अवस्थामा पुगेको छ । मानिसहरू सुरक्षित राखेर आवश्यक पर्ने त्रिपाल र ओछ्याउने म्याट वितरण गरिने गाउँपालिका अध्यक्ष भक्त लामाले जानकारी दिनुभयो । तर अझै पनि राहत पुगेको छैन । समुदायका मानिस गाउँलेको साँघुरो पिँढीमा बसेर रात कटाएका छन् । गाउँबासी नै बस्नु पर्ने गरी विस्थापित भएपछि स्वास्थ्य समस्या आउन सक्ने भएकोले सतर्क रहन जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सुचना गरी आग्रह गरेको छ । तस्वीरः सीताराम अधिकारी ।