पोखरामा (आज) मंगलबार पृथ्वीनारायण शाहको शालिक पुर्नस्थापनाको माग गर्दै हस्ताक्षर अभियान संचालन हुने भएको छ ।
पृथ्वीनारायण शाहको शालिक हटाएर इतिहास मेट्न खोजिएको र राजनीति गर्न लागिएकाले विभाजित नभई सत्य जे हो त्यसको पक्षमा उभिदै हस्ताक्षर अभियानमा संलग्न हुन सबैमा नेता गिरीले अनुरोध समेत गरेका छन् । पहिले चोक खालि राख्ने बहानामा शाहको शालिक हटाइएको र पछि चोकमा शहिद लखन थापाको शालिक स्थापना गरिएपनि शान्तिपूर्ण तवरमा चोकमा शहिद लखन थापासँगै शाहको प्रतिमा राखिएकोमा त्यसलाई हटाएर इतिहासलाई मेट्ने चेष्टा गरिएको युवा नेता अरुण गिरीको भनाई छ । यसअघि शाहको शालिक भएको ठाउँमा नै स्थानान्तरण गरिएको पृथ्वीनारायण शाहको शालिक पुर्नस्थापनाको माग गर्दै मंगलबार (आज) पृथ्वीचोकमा हस्ताक्षर संकलन गर्न लागिएको हो ।
युवा नेता गिरीले भने, ‘पृथ्वीनारायण शाहको शालिक पुर्नस्थापनाका लागि स्वतन्त्र नागरिकसहितको संलग्नतामा शान्तिपूर्ण रुपमा नै हामीले आन्दोलन गरिरहेका छौ । आइतबार पनि झरीको प्रवाह नगरी सयौं आम नागरिक, राजनीतिज्ञ र सामाजिक अभियान्ताको उपस्थितिमा हामीले आन्दोलन गर्यौ । आजको हस्ताक्षर संकलन अभियानमा सहभागी भएर सत्य, न्याय र इतिहासको पक्षमा उभिन आम जनसमुदायमा हामी हार्दिक अनुरोध गर्दछौं ।’
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक पुर्नस्थापना गर्न दवाव दिने उद्धेश्यले स्वतन्त्र रुपमा आम जनसहभागिता गराई धेरै भन्दा धेरै हस्ताक्षर उठाउनको लागि आज वृहत प्रदर्शन एवं हस्ताक्षर संकलन अभियान राखिएको युवा नेता अरुण गिरीले जानकारी दिएको हो । आम नागारिकको समर्थनमा पोखराको पृथ्वीचोकमा शालिक पुर्नस्थापना हुने नेता गिरीको दावी छ ।







