आयल निगमकाे गण्डकी प्रादेशिक कार्यालय पोखरामा इन्धन चुहावट दर बढे पनि केन्द्रले बेवास्ता गर्दा डिपो प्रमुख चित्तरञ्जन दासले खुलेआम अपचलन गर्दै आएको खुलेको छ । दासले ट्याङ्करमा नियमित बिलिङ गरेभन्दा बढी तेल हालेर पठाउने र व्यक्तिगत लाभ लिने गरेको पोखरा डिपोस्थित कर्मचारीहरू बताउँछन् ।
दासको कार्यकाल लम्बिँदै जाँदा प्रत्येक महिना इन्धन चुहावट हुने दर बढ्दै गएको थियो । कारबाही गर्नुपर्ने डिपो प्रमुख दासको संरक्षण गर्न निगम केन्द्रीय कार्यालयले जनशक्ति नै परिचालन गरेको थियो ।
दास भने गत शुक्रबार निलम्बनमा परेका छन् । तोकिएको लक्ष्यभित्रै चुहावट दर कायम भएकाले बिस्तारै गरे पनि दासबाट अपराध भएको आयल निगम स्रोतले बतायो । दासले एउटै ट्याङ्करबाट तीन हजार दुई सय लिटर डिजेल अपचलन गरेको पाइएको छ । आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले तेल चोरीमा संलग्न दासलाई कारबाही गरेपछि निगमको उच्च व्यवस्थापनमा रहेका केही कर्मचारीले असन्तुष्टि जनाएको स्रोतले बताएको छ ।
दासले बिल काटेभन्दा बढी तेल पेट्रोलपम्पहरूलाई वितरण गरेकै कारण अघिल्लो वर्षको तुलनामा गत असारको नोक्सानी दर दोब्बरले बढेको छ । असारमा पेट्रोल ०.८३ प्रतिशत र डिजेल ०.४० प्रतिशत नोक्सानी भएको थियो । यो दर तोकिएको लक्ष्य भित्रै भए पनि अस्वाभाविक चुहावट हो । डिजेल निगमको अमलेखगन्जस्थित डिपोसम्म पाइपलाइनबाट आउने र त्यहाँबाट तुलनात्मक रूपमा चिसो ठाउँ पोखरामा जाने हुँदा नोक्सानी नभई बढ्नुपर्ने हुन्छ । पेट्रोलियम पदार्थमा चिसोमा खुम्चिने र तातोमा फैलिने स्वभाव हुन्छ ।







