खाँदवारी नगरपालिका-१ स्थित हस्पिटल गेटमा रहेको जिल्ला कारागारका दुई जना कैदीको साउन २४ गते शङ्कास्पद मृत्यु भएको घटनालाई लिएर कैदीबन्दी र कर्मचारीले छुट्टाछुट्टै विज्ञप्ति जारी गरेका छन् ।
प्रहरीको यातनाबाट साउन २४ गते मारिएका भनिएका सङ्खुवासभाकै मादी नगरपालिका-५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट जिल्ला, ककनी गाउँपालिका-७ का २८ वर्षीय आकाश बलामीको मृत्यु भएको घटनामा कैदीबन्दी र निजामती कर्मचारीले छुट्टाछुट्टै विज्ञप्ति जारी गरेका हुन् ।
कारागारमा रहेका कैदीबन्दीहरूले साउन २८ गते एक विज्ञप्ति जारी गरी कारागारको बाह्य प्रशासन सुचारू गराइदिन प्रमुख जिल्ला अधिकारलाई आग्रह गरेका छन् ।
कारागार प्रमुख राजेन्द्र घिमिरेको घटनामा संलग्नता नरहेको तर, कारबाहीका लागि किटानी उजुरी परेको भन्दै विभिन्न राजनीतिक दलसम्वद्ध निजामती कर्मचारीले विज्ञप्तिमार्फत विरोध जनाएका छन् । राजनीतिक दलसम्वद्ध निजामती कर्मचारीहरूले साउन २९ गते एक विज्ञप्ति जारी गरी निश्पक्ष छानविनमार्फत दोषीलाई कारबाहीको माग गरेका छन् ।
पीडित पक्षको किटानी उजुरीका आधारमा प्रहरीले ०८० साउन २३ गते राति कारागारको सुरक्षा प्रमुखको जिम्मेवारीमा रहेका असई लक्ष्मी चौधरीविरूद्ध साउन २७ गते कर्तव्य ज्यान शीर्षकमा उजुरी दर्ता गरेको छ । आरोपित चौधरीलाई प्रहरीले साउन २८ गते गिरफ्तार गरी अनुसन्धान गरिरहेको छ ।
चौधरीविरूद्ध साउन २८ गते जिल्ला अदालतमा कर्तव्य ज्यान शीर्षक मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र गोदारले बताउनु भयो । पीडित पक्षले कारागार प्रमुख राजेन्द्र घिमिरेविरूद्ध प्रहरीमा उजुरी दिएको भएपनि घिमिरे सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।
घटनाको छानविनका लागि गृह मन्त्रालयले कारागार व्यवस्थापन विभागका निर्देशक कमलप्रसाद पाण्डेको संयोजकत्वमा साउन २४ गते गठन गरेको छानविन समितिले जिल्लामा साउन २६ गतेदेखि अनुगमन गरीरहेको छ ।