लगातारको वर्षा सँगै साउन २८ गते राति मुस्ताङको कागखोलामा आएको बाढीले ३१ ओटा भौतिक संरचनामा क्षति पुगेको प्रहरीले जनाएको छ । क्षति भएको भवन तथा भौतिक संरचना, पशु चौपाया एवम् सवारी साधन हेर्दा एक अर्ब हाराहारीको क्षति हुन सक्ने अनुमान गरिएको छ ।
लगातारको वर्षापछि वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–२ उपल्लो झोङमा पहिरो जाँदा आएको बाढीले कागखोला गाउँपालिका–४ कागबेनीमा वडा कार्यालय, प्रहरी चौकी, धर्मशाला, स्कुल तथा सर्वसाधारणको घरमा क्षति पुर्याएको हो ।
बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथका वडा अध्यक्ष प्रमेश गुरुङका अनुसार माथिल्लो झोङ देखि आएको बाढीले कागबेनीमा क्षति पुगेको बताउनुभयो । उहाँले भन्नुभयो–‘अहिले सबै जनप्रतिनिधिहरु कागबेनी क्षेत्रमा उद्धार तथा क्षति विवरण संकलनमा लागेका छौं, क्षतिको एकिन तथ्याङ्क निकाल्न समय लाग्ला तर सबै संरचना हेर्दा एक अर्ब हाराहारीको क्षति भएको हुन सक्छ तर पनि एकिन भन्न सकिने अवस्था भने छैन ।’
कागखोलामा आएको बाढीले बिजुलीको पोल बगाउँदा उक्त क्षेत्रमा विधुत अवरुद्ध भएको छ । कागबेनीमा बिजुलीको पोल ढल्दा उपल्लो मुस्ताङको लोमन्थाङ एवम् लो–घेकर दामोदरकुण्ड गाउँपालिका अन्धकार बनेको मुस्ताङमा विधुत वितरण गर्दै आएको निलगिरी उपभोक्ता सहकारीका कार्यालय प्रमुख सनप्रसाद थकालीले बताउनुभयो । उहाँले भन्नुभयो–‘खोलामा बाढी छ बिजुलीको पोल ढलेको छ विधुत वितरण सुचारु गर्न समय लाग्न सक्छ ।’
मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीका अनुसार कागखोलामा आएको बाढीले कागबेनीको श्राद्ध स्थलमा रहेको एउटा धर्मशाला बगाएको छ । जनशान्ति माध्यमिक विद्यालयको खेलमैदान पुरीएको छ भने दुई तले विद्यालयको पहिलो तला पनि लेदोले पुरीएको छ । १५ घर पूर्ण रुपमा बगाउनुका साथै अन्य १५ घरमा पनि क्षती पुगेको स्थानीयले बताएको प्रजिअ केसीले जानकारी दिनुभयो ।
स्थानीय व्यवसायीको गाडी बगाएको भए पनि मानविय क्षतिको अहिले सम्म कुनै जानकारी नआएको उहाँको भनाई छ । घर बगाएको तथा क्षति पुगेर बस्न नसक्ने अवस्था पुगेका घरका नागरिकलाई छिमेकीहरुकोमा आश्रय लिने व्यवस्था मिलाइएको छ । केही मोटरसाइकल तथा स्कुटर बगाएको र एउटा डोजर बाढीले पुरेर क्षति पुर्याएको केसीको भनाई छ । उपल्लो मुस्ताङ हुँदै चीन जोड्ने बेनी–जोमसोम–कोरला सडक खण्ड अन्तरगतको कागबेनीमा रहेको कागखोलाको पक्की पुलका साथै काठको पुल समेत बाढीले बगाएको छ ।
जनशान्ति माध्यमिक विद्यालय कागबेनीको छात्रावासमा रहेको ९० विद्यार्थीलाई सुरक्षित तबरले कागबेनीकै क्याराभान होटलमा राखिएको विद्यालयका शिक्षक प्रेम गौतमले जानकारी दिनुभयो । बाढी आउन थालेपछि विद्यार्थीहरुलाई सुरक्षित स्थानमा लगेर राखेको उहाँले भन्नुभयो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका डिएसपी रबिन्द्र पौडेलका अनुसार प्रहरी चौकीको मोटर साइकल सहित कागबेनी क्षेत्रका १० ओटा सवारी साधनमा क्षति पुगेको भनिएको भए पनि एकिन गर्न बाँकी छ । उहाँले भन्नुभयो–‘पशु चौपाय, व्यक्तिका धनमाल तथा भौतिक संरचनाको क्षतिको अहिले नै एकिन गर्न सकिदैन तर क्षति निकै ठूलो भएको छ ।’
कागबेनी प्रहरी चौकीको भवनमा रहेको हतियार सुरक्षित रहेको भए पनि अन्य सामग्री तथा भवन भने बाढीले पूर्ण क्षति भएको छ ।
बेनी–जोमसोम–कोरला सडक खण्ड अन्तरगत मुस्ताङको बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकाको पाण्डा खोला, घरपझोङ गाउँपालिकाको मार्फा स्थित राजखोलामा बाढीले गर्दा सडक अवरुद्ध हुँदा सदरमुकाम जोमसोम यातायात सम्पर्क विहिन भएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसी सहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी एवम् राष्ट्रिय अनुसन्धानको टोली पनि घटनास्थल पुगेर उद्धारको कार्य गरीरहनु भएको छ । तस्वीरः अमृतप्रसाद पौडेल ।








