कारागारको सुरक्षामा खटिएका १० जना प्रहरी सहित १५ जनालाई गिरफ्तार गरेर घटनाको अनुसन्धान जारी राखिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी वीरेन्द्र गोदारले बताउनु भयो ।
जिल्ला कारागार सङ्खुवासभामा दुईजना कैदीको मृत्यु प्रकरणको अध्ययन गर्न इन्सेक कोशी प्रदेशका संयोजक सोमराज थापाको नेतृत्वमा एक टोली साउन २६ गते सङ्खुवासभा पुगेको छ । सो टोलीमा इन्सेक कोशी प्रदेशका प्रलेख अधिकृत पुण्यप्रसाद अधिकारी, इन्सेकका सङ्खुवासभा प्रतिनिधि भविन कार्की र जिल्लास्थित अधिकारकर्मी सहभागी छन् ।
कारागारको सुरक्षाका लागि असईको नेतृत्वमा २० जना प्रहरी परिचालित थिए । घटनामा प्रहरीको संलग्नता देखिएपछि असई लक्ष्मी चौधरीसहित १० जनालाई गिरफ्तार गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कैदीको मृत्यु भएको घटनाको अनुसन्धानका लागि भनेर प्रहरीले कारागारका चौकीदार रामकुमार कार्की सहित नौ जना कैदीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उक्त घटना कारागारको ‘ए’ ब्लकमा भएको हो । सो ब्लकमा ६६ जना कैदीबन्दी थिए ।
जिल्ला कारागार खाँदबारीमा कुटपिटबाट दुई जना कैदीको मृत्यु भएको थियो । कुटपिटबाट कैदी सङ्खुवासभाकै मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको मृत्यु साउन २४ गते मृत्यु भएको पीडित पक्षको आरोप छ ।
कारागारको शौचालयको झ्यालका रड काटेर भाग्न खोजेको भन्दै कैदी तोलाङ्गी र बलामीलाई साउन २४ गते बिहानको राति १ बजेतिर प्रहरीले नियन्त्रणमा लिएको थियो । कुटपिटमा कारागारको सुरक्षामा खटिएका प्रहरीको समेत प्रत्यक्ष संलग्नता देखिएको छ । कारागारमा रहेको सीसीटिभी फुटेज अध्ययनबाट प्रहरीले कैदीलाई कुटपिट गरेको देखिएको हो ।
फुटेज हेरेपछि कारागारको सुरक्षामा खटिएका १० जना प्रहरी सहित १५ जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको डिएसपी गोदारले बताउनु भयो । घटनामा प्रहरीको समेत संम्लग्नता देखिएपछि कोशी प्रदेश प्रहरी कार्यालयले एसपी ऋषिराम कँडेलको नेतृत्वमा चार सदस्यीय छानबिन समिति बनाएको छ । समितिमा इन्स्पेक्टर जितेश दाहाल, सई रुद्रबहादुर खड्का र हवल्दार तीर्थ भट्टराई सदस्य छन् । कोशी प्रदेश प्रहरीको छानबिन समितिले साउन २५ गतेबाट काम सुरु गरिसकेको छ ।
घटनापछि जिल्ला सुरक्षा समिति सङ्खुवासभाले सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेको नेतृत्वमा बुधबार तीन सदस्यीय छानबिन समिति बनाएको थियो । समितिका जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सरोज खनाल र प्रशासन कार्यालयका सुब्बा तारणी घिमिरे सदस्य छन् । जिल्ला कारागारमा दुई कैदीको मृत्यु भएको आरोप लागेपछि गृह मन्त्रालयले समते छानबिन समिति गठन गरेको छ । गृह मन्त्रालयले कारागार व्यवस्थापन विभागका निर्देशक एवम् प्रवक्ता कमलप्रसाद पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन गठन गरेको छ ।
समितिमा नेपाल प्रहरीका डिएसपी कौशलकुमार बुढाथोकी, राष्ट्रिय अनुसन्धानका डिएसपी कुमार बुढाथोकी, कारागार विभागका कानुन अधिकृत तुलबहादुर खड्का र जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका प्रशासकीय अधिकृत सदस्य छन् । गृह मन्त्रालयको छानबिन टोली शुक्रबार १० बजे सङ्खुवासभा आइपुगेको हो । टोलीले आजबाट अनुसन्धान सुरु गरेको छ । अहिले सङ्खुवासभा कारागारमा आठ महिलासहित १ सय ३६ जना कैदीबन्दी छन् ।








