पोखरा महानगरपालिकाको समन्वयमा विभिन्न अस्पतालहरूले निःशुल्क आँखा परीक्षण तथा औषधी वितरण सेवा प्रदान गरिरहेका छन् । मुलुकका विभिन्न भागहरूमा फैलिरहेको आँखा पाक्ने रोगको सङ्क्रमण पोखरा महानगरपालिका भित्र पनि बढिरहेकाले यसको सङ्क्रमण चक्रलाई रोक्ने उद्देश्यले मणिपाल शिक्षण अस्पताल, चरक मेमोरियल, दृष्टि आँखा हस्पिटल र हिमालय आँखा अस्पतालले निःशुल्क टिकट, आँखा परीक्षण तथा औषधी वितरण सम्बन्धी सेवा प्रदान गरेका हुन् ।
महानगरका प्रमुख धनराज आचार्यको सक्रियतामा मणिपाल शिक्षण अस्पतालका निर्देशक नारायण पौडेल, चरक मेमोरियल हस्पिटलका निर्देशक कपिल पोखरेल, दृष्टि आँखा हस्पिटल प्रा.लिका अध्यक्ष महेश्वर पोखरेल तथा हिमालय आँखा अस्पतालकी मे.सु प्रा.डा इलिया श्रेष्ठ र पोखरा महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा बिच छुट्टाछुट्टै सम्झौता गरिएको छ ।
मुलुकका विभिन्न भागहरूमा फैलिरहेको आँखा पाक्ने रोगको सङ्क्रमण पोखरा महानगरपालिका भित्र पनि बढिरहेकाले यसको सङ्क्रमण चक्रलाई रोक्ने उद्देश्यले निःशुल्क आँखा परीक्षण तथा औषधी वितरण सम्बन्धी समझदारी गरिएको प्रमुख आचार्यले बताउनुभयो ।
व्यवसायीक सामाजिक उत्तरदायित्व अन्तरगत महानगरपालिकासँग सहकार्य गरी प्रभावित बिरामीहरूको सहजताका लागि सो समझदारी गरिएको अस्पतालहरूले बताएका छन् । यी अस्पतालहरूमा बुधवारदेखि श्रावण मसान्तसम्म आँखा पाक्ने रोगको टिकट सहित निःशुल्क परीक्षण र औषधी समेत वितरण सुरु गरिएको छ । बिरामीहरूले बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सेवा लिन सक्नेछन् ।
यसअघि पोखरा महानगरपालिकाले रोगको सङ्क्रमण नफैलियोस् भन्ने उद्देश्यले बुधवारदेखि शुक्रवारसम्म आफ्नो मातहतमा सम्पूर्ण विद्यालय तथा शिक्षण संस्थाहरूमा बिदा दिएको छ । विद्यालयहरू सङ्क्रमणको उच्च जोखिममा रहेकाले बन्द गरिएको महानगरको शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले बताउनुभयो ।