“कोकल कोकल नकरा कोकले, सुकुम्बासी रुँदैछन् भोकले”
प्रस्तुत गीत एकताका तराईका सुकुम्बासी झुपडीहरुमा अत्यन्तै प्रचलित र लोकप्रिय थियो । साना ठूला हरेकले उक्त गीतका गेडाहरुलाई गाउने गर्थे, गाउँ नै गुञ्जने गरी । यो गीत कुनै भावनामा चुर्लुम्म डुबेर कल्पनाको पिरामिड तैयार गरी गाइएको कदापि होइन । उनी भर्खर पहाडबाट मधेश झरेका थिए । सुकुम्बासीका बस्तीमा स्याउले झुपडी थियो, उनको । रुखो सुखो दुई छाक खानलाई पनि धौ–धौ पथ्यौं । वनका गिठा, भ्याकुर र कन्दमुल खोजी पेट भर्न पाउनु नै उम्दा जीवन ठहरिन्थ्यो । यसरी कन्दमुलको खोजीमा जंगल भोतारिँदा कोकले आवाजले झर्कन्छन् र गीतका माला गुँथ्न पुग्छन् उनी, अर्थात् प्रचण्ड बहादुर बुढाथोकी मगर ।
प्रचण्डको जन्म वि.स. १९९९ साल फाल्गुण २८ गतेका दिन बुबा छविलाल बुढाथोकी र आमा तुलसा बुढाथोकीको कोखबाट अर्घाखाँची जिल्ला खिदिम गा.वि.स. १ अन्तर्गत खुलौले भन्ने गाउँमा भएको हो । बाल्यकालमा खिदिमकै श्रीराम मिडिल स्कुलमा अध्ययन गरेका उनले पछि गएर भने प्राइभेट रुपबाट म्याट्रिक सरहको कोर्स पनि पूरा गरे । मूलतः उनको पेशा कृषि र शिक्षण नै हो । हाल उनको बसाई नवलपरासीको चिसापानी भन्ने ठाएँमा अवस्थित छ । सोही गाउँ कै दिव्यज्योति मा.वि.का प्रा.वि. स्तरमा अध्यापन गर्दै आएका थिए ।
सर्वप्रथम उनले आफना गीतको रेकर्ड वि.सं. २०२८ सालताका दार्जिलिङस्थित रेडियो खर्साङमा गराएका थिए । रेडियो नेपालमा भने २०२४ सालतिर ७ वटा जति गीत रेकिर्ड गराएका थिए । उनैले गाएका गीतः
“दाइ रुँदै नौतना रेलैमा, आमा रुँदै गाउँबेसी मेलैमा” भन्ने गीतलाई अरुले चोरेर “दाइ रुँदै गोरखपुर रेलैमा” भनि गाइदिँदा उनको चित्त अवश्य नै धेरै दुखेको थियो रे । गामबेसीमा गुञ्जने भाकाहरुलाई टपक्क टिपेर त्यहीका झर्रा शब्दहरुलाई गुँथ्दै सुरिलो स्वरमा गला भर्दा जो कोही पनि मन्त्रमुग्ध नभई धरै पाउँदैनन् । मन चाहे शून्य र रित्तो होस् अथवा व्यथित र उदाङ्गो होस् या सुखद् र उल्लासमय होस्, यिनका गीतले पालैपालो उपचार गर्न सामथ्र्य राख्छन् । यिनले गाएका विरह गीतले अन्तरहृदयको मार्मिक पीडालाई शीतल गराँउछ । त्यसैकारण दुःख विरहबाट व्यथित व्यक्ति पनि छातीमाा गाँठो पारेर होस् वा परेलामा आँसु झुण्ड्याएर होस् मनका भावहरु गीतका माध्यमद्वारा व्यक्त गर्दछ । निश्चय नै आँसु चुहाए पनि मन हलुङ्गो हुन्छ । यिनले गाएका गीतहरुमा आफ्नै नेपाली मौलिकता लछप्पै छ । आफ्नैपनले भरिएको, आफ्नो माटोमा उम्रेको, आफ्नै गेडामा उनिएको भाकामा मुछिएको छ र नेपाली तेजस्वी आत्मा लुकेका छ–
“ए चरी सुनाईदेउ बोली, के छ पीर भनिदेउ दिल खोली
छैनौं के रे वनमा चरी, चरी भए बोल्दिहौ क्यै गरी”
आँगन, दलान, गाउँ–बेसी, पाखा–पखेरा, मेलापात आदिमा लोकसंस्कृति स्वतःस्फूर्त प्रस्फुटित भएर आउँछ । जुहारी देखि मारुनी सम्म, रत्यौली देखि भत्कौरीसम्म, मूलढोकाका जस्केला देखि आँखीझ्यालसम्म, बालुन, भजनदेखि संगिनीसम्म, खुकुरी खुर्पा देखि खुँडा सम्म, ढुंगेधारा देखि चौतारासम्म, चुला–चौका देखि सभा समारोह स्थलसम्म प्रचण्डका गीत अनुभूत गर्न सकिन्छ । विशेषतः उनका गीतले निम्न वर्गका तप्कालाई प्रतिनिधिमा चयन गरेको हुन्छ । जालझेल, शोषण, दमन र उत्पीडन उनलाई सह्य हुँदैन र यसैको विपक्षीमा आफूलाई उभ्याउँदै गीतका माध्यमद्वारा उनी बोल्छन् ः
“जनतामा पीर मर्का भारी छ, अझै हाम्रो संघर्ष जारी छ ।”
“नेपालमा घाम लाए नि न्यानो लाएको छैन, राक्षस बाँध्ने अरु कोहीको पालो आएको छैन ।
देश खाने देश मारा, बाटो लाएको छैन्, अत्याचारी शोषकले माटो खाएको छैन् । ”
पहरा र कन्दराहरुमा पनि सुन्दर–सुन्दर फूल फुलिरहेका हुन्छन् । सुन्दर फूल केबल शहर र साधन सम्पन्न ठाउँहरुको बगैंचामा मात्र फुल्छन् भन्न सकिन्न, पहाडी कन्दरामाा फुलिरहेका फूलहरुको आफ्नै महत्व हुन्छ । ती सुन्दर फूलहरु पनि आफ्नो मनोरम सौन्दर्य प्रस्तुत गर्न र मधुर बास्ना छर्न सक्षम भैरहेकै हुन्छन् । तिनै फुलमध्येका एक हुन्– प्रचण्ड बहादुर बुढाथोकी ।
पाल्पा बुटवलको बाटो ओहोरदोर गर्ने क्रममा त्यस भेगमा प्रचलित भाकाहरुलाई उनले टप्पक टिपेर तीजका गीत पनि लेखेका छन् । सासुरुपी नारीबाट बुहारीले खेप्नुपरिरहेको दुःख सास्तीजस्ता हाम्रा समाजका अत्यन्त र्र्मािर्मक पक्षलाई उनले जस्ताको तस्तै उदाङ्गो पारेर देखाइदिएका छन् ः
“हाम्रो वरै टाढा बेसी चौतारीमा बिसाउने, आउँदा आउँदै राति हुन्छ सासु रिसाउने
पैतालाको छाला गयो बिझाउने बाटाले, हृदयको खाला गयो बासी आटाले
जुन थालमा भात खायो उही थालमा चुटेका, कर पारी छोरी दिने आँखै फुटेका”
प्यूँठानको उत्तरी भेगतिर मगर समुदायमा प्रचलित लवजहरुलाई पनि टपक्क टिपेर उनले जुर्मुराएको मगर भनी गीत बनाएका छन्ः
“मया मारिर२ दुःख पाइ र आयाको पहार छारिर”
गाउँमा रिन खोज्न जाँडा खिरि कुकर जटि भुक्ने,
रिट्टै घरमा आउँडा खिरी बुरीमाउले ठुङ्ने
पिरै पिरले यो मनमा जौ र टिल पाक्छ
भुट्टे खुर्पा समाटिर, रन्फनाउन भैm लाग्छ ।”
यति मात्रै होइन, ठूले दाइलाई हेरेर अब नेपाली युवा हो । लाहुरे हुन नजाउ, बरु स्वदेश मै हक अधिकार निम्ति लड भन्दै सन्देशमूलक जागृतिका गीत पनि गाएका छन् । पञ्चायतकालमा युवा जमातमा उक्त गीत अत्यन्तै कर्णप्रिय मानिन्थ्योः
“लाहुरे हुन नजाउ दाइ अब त, खेर गयो नेपाली रगत
नजाउ विदेश करिया हुनलाई बसौं स्वदेश मालदाम्लो फुनलाई”
युगौं देखि व्याप्त सामन्ती प्रथाको दोहोलो काढ्नका निम्ति अब हामी जाग्नु पर्छ भन्दै उनले तामाङसेलो गीतमा स्त्री र पुरुषका बीच संवाद गराउन समेत पुग्छन्ः
“उठ है च्याङ्वा, अब नगर दियाँलो
जालीझेली नफाले सम्म हुन्न हाम्रो देश उज्यालो, लस्सो
जुट है मैच्याङ अब बालेर दियालो …………………………….. ।”
नारी पुरुष मिलेर फालौं, नेपालको कालो तुवालो
लस्सो, उठ है देशको निमित्त केही गर्न नसक्ने पशुहरुलाई उनले लोइरेको संज्ञा दिँदैं आधुनिक लयमा गीत गाउनु समेत पछि पदैंनन् ः
“पृथ्वीका भारहरु हो, तिमीले व्यथैं जन्म लिएछौं
साहसी वीर हौला भनेको, गोज्याङग्रे लोइरेको पो बनेर जिएछौं ।”
प्रचण्डले २०४७ सालताका आफ्ना रचनामा भोजपुरी गीत पनि गाएका थिए ः
होरे होरे हो हो हो हो हो हो । अन्यायको विरोध भइल्जा
संघर्ष मै सब लोगन एक ही जुट भइल्जा भइल्जा हो रे –
यसरी प्रचण्डले बुर्जुवा गीतलाई तिरस्कार गर्दै जनवादी गीतहरु गाइ नै रहे । समाजको वास्तविक वेदना र आफ्नैले अनुभुत गरेको पीडाहरुलाई मधुर स्वरमा घोलेर सुकुम्बासीका झुपडीहरुमा र शहरका गल्लीहरुमा फलाक्दै हिँडे । यिनको अभिरुचि गाउने, बजाउने, लेख्ने, समाजसेवा गर्नेमा मात्रै सीमित छैन्, कला र नृत्य सिकाउनमा पनि उत्तिकै छ । उनी राष्ट्रिय जनसाँस्कृतिक मञ्च, नेपालको संस्थापक केन्द्रीय सदस्य समेत हुन् । उसो त उनको जीवन पनि आफैमा संघर्षले ओतप्रोत नालीबेलीपूर्ण छ । सन् १९६० ताका भारतको “तेरा आसाम राइफल” पल्टनमा ४ वर्ष ३ महिना ५ दिन पल्टनियाँ जीवन समेत व्यतीत गरेका थिए । त्यस्तै वि.सं. २०२४ तिर वामपन्थी पार्टीमा आबद्ध थिए र पार्टीले नै उनलाई शिक्षण फाँटमा खटाएको थियो ।
लोकगीतमा अहिले भित्रिएको छाडापनले उनी जस्तो सचेत मस्तिष्क भएकाहरु चुप लागेर केबल मुकदर्शक बनेर बसिरहनु किमार्थ यथोचित देखिदैन ः– पहिलेका लोकगीतहरु गम्भीर प्रकृतिका थिए साथै उत्तिकै मिठासपूर्ण पनि । अहिलेका जस्तो होइनन् ” उनी भन्छन् ।
पहिलाको गीतः
केटी– पानीलाई तताउन त माया लाग्यो काँनेर बताउ त
केटा– केराघारी गम्म (सम्म) र गम्म माया लाग्छ शिरदेखि पाउ सम्म
हालको – गीत ः–
बत्ती बाल्यौं माटोको पालामा, च्याप्प म्वाँई खाईदिन्छु गालामा
उनी स्ययंलाई भने मनपर्ने उत्कृष्ट गीत यस्तो छ, जुन उनले पल्टनमाा छँदाताका रचना गरेको हुन–
“जहिले म जान्छु धोवीमा धारा धोवीले धोइरहने, दन्तलाई पापी हाँसेता पनि मन पापी रोइरहने”
उनले शुरुका लाहुरे जीवनमाा पूर्वी नेपालमा प्रचलित संगिनी लयमा आधारित गीतको रचना पनि गरेका थिए ः–
“बाटा र मुनि बाटा र मााथि सर्पको काँचुली
कान्छामाा दाइको झल्को लाग्छ नबजाउ बाँसुरी
केराको पातमा कपुर, बत्ती दैलोको ठेलैमाा”
पल्टनबाट म आएँ कान्छी लौ कस्तो बेलैमा”
उनले पल्टन मै छँदा डोटी–बैतडीतिर गाउने भाकामा पनि गाउने गर्थे,जुन तीजको हुन्थ्यो । उनले कतिपय अरुले गाएका सुनेर गाउँछन् भने कतिपय आफैले रचेर । उनले गरेका भाका संकलित क्षेत्र हुन्–गण्डकी, लुम्बिनी प्रदेश जहाँ गुरुङ, मगर, बाहुन, दमाई तथा गन्धर्ब जातिको बसोबास रही आएको छ । हाम्रो लोक गीत नै झाम्रे हो भन्ने प्रचण्डले सोरठी, कृष्णचरित्र र रामायणलाई भने भारतबाट भित्रिएकाो भनी बताउँछन् ।
प्रचण्डका गीत भनेपछि सर्वसाधारण देखि लिएर सचेत तप्का समेत हुरुक्कै हुन्छन् । कम्मर मर्काई–मर्काई नाच्नलाई रौसिन्छन् । उनले गला खोल्दा सबका कान ठाडा हुन्छन् । जोशिला मुठ्ठीहरु कसिन्छन् र अविश्रान्त करतल ध्वनिले आकाश गुञ्जायमान हुन्छ । एमाले विभाजन ताका बुटवलको आमसभालाई सम्बोधन गर्न तत्कालिन पार्टी अध्यक्ष मनमोहन अधिकारी र महासचिव माधव नेपाल आईपुग्दा उनले गाएका लोकगीत सुनेर उपस्थित जनसमुदाय थपडी बजाउँदैं नाचेका थिए । जुन यस प्रकारका छ ः
“यौटै मुखले खेलाउने, टढे जिब्रो दुईटा
बाहिर बाहिर पाप्रा फुटी, चुइटिएका चुईटा
पराइले लोभ्याउँदा ¥याल काँढेर चक्ख
मााफियाको कलो पाउँदा, मुख मिठ्याउँदै मख्ख
के दिनमाा जन्मेछौ खुनी,
बनको ब्वाँसो भन्दा नि बैगुनी२”
लोकगीत कै सन्दर्भमा उनले उत्तर कोरिया, थाईल्याण्ड, चीन र भारकाो समेत भ्रमण गरेका छन् । कोरिया भ्रमणमा त्यहाँ पनि जाँड, रक्सी पार्ने, दुल्ही बोकेर ल्याउने, मान्छेहरु रक्सीले माती बतु¥याउने, सम्पन्न दुलाहा घोडामाा चढी दुली लिन जाने जस्ता बैबाहिक संस्कारहरु देखाइएको थियो । तिनीहरुले हाम्रा जस्ता भेषभूषा, गरगहना लगाएका थिए, तर नाकमा भने बुलाकी र फुली लगाएका थिएनन् । यसरी उनीहरुका र हाम्रा बैबाहिक संस्कार धेरै हदसम्म मिल्दो जुल्दो पाएको उनी बताउँछन् ।
प्रचण्डलाई कैयौं संघ–संस्थाले दोसल्ला ओढाई अधिनन्दन समेत गरेका छन् । त्यस्तै कलेज अफ एकजुकेशनबाट स्वर्ण पदक समेत प्राप्त गरेका छन् । मोफसलमा रहेर पनि गीत–संगीतको संरक्षण र सवद्र्धनमा अहोरात्र जुटेका सरल, मृदुभाषी प्रचण्डले छोरी सिन्धु जलेसासंग गाएका लोकदोहोरीको गीति एल्बम पनि बजारमा ल्याइ सकेका छन् । “कविता लेख्ने रीति र हाम्रा गीत” नामक आफै द्वारा रचित पुस्तिकाहरु समेत प्रकाशन गरिसकेका छन् । त्यस्तै रातो रुमाल गीति एलबम पनि पछिल्लो पटक बजारमा ल्याइसकेका छन् । अन्तिम जिज्ञासा जान्न खोज्दा उनी यस्तो भन्छन् –मैले लेखेका गीतहरुले किताबको रुप पाउन सके भविष्यका कर्णधारहरुलाई केही प्रेरणा हुन्थ्यो जस्तो लाग्छ । आर्थिक अनुकूलता नमिल्दा क्यासेट एल्बम गर्नु पर्ने गीतहरु जुनसुकै कलाकारले क्यासेट गरिदिएमा त्यो श्रमजीविकाको सहयोगी आवाज बन्नेथ्यो कि भन्ने ठान्थे । यस्ता जनगायकले ६ वर्ष अघि नै सदाका निम्ति यस धर्ती छाडेर गैसकेका छन् ।







