अपाङ्गता भएर हिँडडुल गर्न नसक्ने सहिदभूमि गाउँपालिका-४ खोकुस्थित भोक्राङका ३४ वर्षीय आशबहादुर राईलाई जिल्ला प्रशासन कार्यालयले घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ ।
जिल्ला प्रशासन कार्यालय, धनकुटाले आशबहादुर राईलाई घरैमा पुगेर नागरिकताको प्रमाणपत्र साउन २५ गते प्रदान गरेको हो ।
शरीरको कुनै पनि भाग नचल्ने आशबहादुरलाई प्रशासनले घरमै पुगेर नागरिकताको प्रमाणपत्र दिएको सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राईले बताउनु भयो ।
घस्रिएर हिँड्न खोजेपनि हिँड्न नसकेपछि वडाध्यक्षलाई समस्या सुनाएको आशबहादुरले बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अङ्कित मङ्ग्रातीको टोलीले आशबहादुरलाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको हो ।
आशबहादुरलाई सहिदभूमि गाउँपालिकाको पहलमा नागरिकता प्रदान गरिएको गाउँपालिका अध्यक्ष मनोज राईले बताउनु भयो ।
नेपालको संविधान, २०७२ को भाग २ धारा १० देखि धारा १५ सम्म नागरिकतासम्बन्धी व्यवस्था गरिएको छ ।
धारा १० मा कुनै पनि नेपाली नागरिकलाई नेपाली नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित नगरिने उल्लेख छ ।







