प्रहरी, प्रशासनबाट सिर्जना गरिएको आतङ्कित वातावरण विरुद्ध प्रेस स्वतन्त्रताको खोजी गर्दै साउन २४ गते रातिदेखि सप्तरीका पत्रकारहरू आन्दोलित भएका छन् ।
लोकतन्त्रको सबैजसो आन्दोलनमा अग्रगामी भूमिका निर्वाह गरेको प्रेसले असुरक्षा महसुस गरेपछि प्रेस स्वतन्त्रताको खोजी गर्दै मैनबत्ती बालेर विरोध सुरु गरेका हुन् ।
प्रेस स्वतन्त्रता विरोधी गतिविधि मान्न नसकिने भन्दै नेपाल पत्रकार महासंघ सप्तरीको साउन २४ गतेको बैठकले आन्दोलनमा जाने निर्णय गरेको हो । जिल्ला प्रहरी कार्यालयभित्र साउन १५ गते नेपाल पत्रकार महासंघ सप्तरीका सल्लाहकार तथा इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलको संवेदनशील अङ्गमा असई राजेश्वर महतोले बुटले आक्रमण गरी ज्यान मार्ने उद्योग गरेका थिए । उहाँको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार भएको छ ।
यस्तै समाचार सङ्कलनमा गएका पत्रकारहरू बृजमान तामाङ र डम्बर राइलाई साउन २१ गते जिल्ला प्रशासन कार्यालय प्रवेशमा रोक लगाइएको थियो । पत्रकारहरूमाथि एक पछि अर्को आक्रमण, दुर्व्यवहार र निषेध गर्दै आएको जिल्ला प्रशासन कार्यालयले साउन २३ गतेको मिति राखेर साउन २४ गते अनुमति बिना कार्यालय भित्रको तस्विर, भिडिओ खिचेर सामाजिक सञ्जाल, अनलाइन, पत्रपत्रिकामा राखे कारबाही गर्ने उर्दी जारी गरेको छ । सो उर्दी साउन २४ गते राति ८ बजेसम्म फिर्ता नलिएकोले चरणबद्ध आन्दोलनमा उत्रिएको नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देवले जानकारी दिनुभयो ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउन, निमोठन र पत्रकारहरूलाई तर्साउन खोजिएकोले प्रेस स्वतन्त्रता र स्वायत्तताको संरक्षणका लागि पत्रकारहरू आन्दोलित भएको महासंघ सप्तरीका उपाध्यक्ष बैद्यनाथ यादवले बताउनु भयो ।
पोखरेलमाथि भएको आक्रमणविरुद्ध इन्सेक, नेपाल पत्रकार महासंघ, ६ राजनीतिक दललगायत दर्जनौ संघ–सस्थाले घोर भत्सर्ना र निन्दा गर्दै दोषीहरूमाथि कडा कारबाहीको माँग गर्दै आएको छ । पोखरेलमाथि आक्रमण गर्नेमाथि कडा कारबाही नभएसम्म एसपी संरक्षक रहेकै सामुदायिक सेवा केन्द्र सप्तरीले समेत प्रहरीको कुनै पनि कार्यक्रममा सहभागिता नजनाउने र कार्यक्रम समेत नगर्ने निर्णय घटनालगत्तै सार्वजनिक गरेको थियो ।