मकवानपुर प्रतिनिधि पुष्पराज अधिकारीका अनुसार अविरल वर्षाका कारण बागमती गाउँपालिका-५, सिग्रे देभानमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने तीन बालबालिकासहित ६ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बागमती गाउँपालिका-५, सिग्रे देभानका अक्कलबहादुर स्याङतानको घर पहिराले पुरिएको हो । पहिरामा परी ज्यान गुमाउनेमा अक्कलबहादुरकी पत्नी ५५ वर्षीया सन्तमाया स्याङतान रहेको छ ।
अक्कल बहादुर, उहाँका छोरी शिला स्याङतान, ज्वाइँ जीवन पहरी, नाति चार वर्षीय मिलन पहरी, डेढ वर्षीया नातिनी दिव्या पहरी र पाहुना सिन्धुली हरिहरपुरका १६ वर्षीया पासाङ पहिरामा पुरिएर बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ताहरूको स्थानीय र प्रहरीको सहयोगमा खोजी भइरहेको बागमती गाउँपालिका ५ नम्बर वडा अध्यक्ष विजय कुमार भ्लोनले बताउनु भयो । बागमती नदीमा बढेको बहाब कारण धरान–चतरा सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।
बागमती गाउँपालिका-४ पर्ने सडकखण्डको केही भाग नदीले कटान गरेकोले धरान–चतरा सडकखण्ड एकतर्फी सञ्चालनमा रहेको मकवानपुका डिएसपी टेक बहादुर कार्कीले जानकारी दिनुभयो । साना र हलुका सवारी सञ्चालनमा ल्याइएको तर मालबहाक र भारी सवारी सञ्चलानमा जोखिरहेकोले सडकखण्ड एकतर्फी सञ्चालन गरिएको डिएसपी कार्कीले बताउनु भयो । यता बागमती नदी बस्तीमा पस्दा बागमती-४, पाँच पाण्डपका ६ घर डुबानमा परेको छन् ।
अहिले डुबानमा परेका घरका मानिस र मालसमान सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ । यसैगरी हेटौँडा भएर जाने छोटो दुरिको मार्ग कान्तिलोकपथ र हेटौँडा कुलेखानी-काठमाडौँ सडकखण्डको विभिन्न स्थानमा पहिरो खसेर बाटो अवरुद्ध भएको डिएसपी कार्कीले जानकारी दिनुभयो ।







