प्रदेश स्वास्थ्य निर्देशनालय, धनकुटाका अनुसार कोशी प्रदेशका १२ ओटा जिल्लामा डेङ्गीको सङ्क्रमण पुष्टि भए सँगै उच्च सर्तकता अपनाउन आग्रह गरिएको छ । कोशी प्रदेशका सोलुखुम्बु र ओखलढुङ्गाबाहेकका १२ ओटा जिल्लामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ । प्रदेशका अधिकांश जिल्लामा डेङ्गीले महामारी कै रूप लिएपछि सबैलाई उच्च सर्तकता अपनाउन आग्रह गरिएको कोशी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले बताउनु भयो । निर्देशक बस्नेतले डेङ्गी परीक्षण किटको अभाव भएकाले स्थानीय तहलाई आँफै खरिद गर्न र प्रदेश तथा सङ्घीय सरकारलाई डेङ्गी किट उपलब्ध गराउन माग गरिएको बताउनु भएको छ । कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाको तथ्याङ्कका अनुसार ०८० साउन २१ गतेसम्म कोशी प्रदेशका १२ ओटा जिल्लामा गरी ६ हजार ४ सय ७५ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ ।

विशेष गरी साँझ–बिहानको समयमा सक्रिय हुने ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेङ्गुको सङ्क्रमण फैलिने गर्छ । उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेङ्गुका लक्षण हुन् । जटिल प्रकृतिको डेङ्गुको सङ्क्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट र खुट्टा सुनिनेस्ता लक्षण देखा पर्छन् ।
ताप्लेजुङ प्रतिनिधि एलिना दियालीका अनुसार जिल्लामा डेङ्गी सङ्क्रमितको सङ्ख्या १३ पुगेको छ । ०८० साउन २१ गतेसम्म जिल्लामा १३ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयमा आएको ५० ओटा डेङ्गी किट सबै जिल्ला अस्पताललाई हस्तान्तरण गरिएको जिल्ला स्वास्थय कार्यालय निमित्त प्रमुख एवम् ल्याब टेक्निसियन उदयनारायण दुलालले बताउनु भयो । स्थानीय तहले स्वास्थ्य शाखामार्फत गर्ने भएकाले स्थानीयतहलाई भने हाल सम्म हस्तान्तरण नगरिएको दुलालले बताउनु भयो । हालसम्म भएको ५० ओटै किट जिल्ला अस्पताललाई हस्तान्तरण गरेका छौँ । स्थानीय तहमा रहेको स्वास्थ्य शाखा मार्फत नै व्यवस्थापनको काम गर्ने हो । यदि त्यस्तो केही सहयोग गर्नुपर्ने कुरा स्थानीय तहबाट आयो भने समन्वय गर्ने छौँ ।” दुलालले भन्नु भयो ।
जिल्ला अस्पतालमा डेङ्गीको चेकजाँच गर्दा १३ जनामा सङ्क्रमण पुष्टि भएको जिल्ला अस्पतालका ल्याब टेक्निसियन सन्तोष चौधरीले बताउनु भयो । सङ्क्रमण पुष्टि भएकामध्ये उपचारपछि १२ जना घरमै स्वास्थ्य लाभ गरिरहेका छन् । तेहृथुम स्थायी घर भइ ताप्लेजुङमा कार्यरत एक जना ३२ वर्षीय पुरूषलाई थप उपचारका लागि जिल्ला बाहिर पठाइएको ल्याब टेक्निसियन चौधरीले बताउनु भयो । डेङ्गीले फुङलिङ नगरपालिका सबैभन्दा बढी प्रभावित भएको छ ।
फुङलिङ नगरपालिका–३ का २० वर्षीय पुरूष, फुङलिङ–४ का ४० वर्षीय पुरूष, ५५ र ८० वर्षीय पुरूषमा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ । फुङलिङ नगरपालिका–५ का ३३ वर्षीय पुरूष, फुङलिङ–६ का २० वर्षीय पुरूष, सोही वडाकी २४ वर्षीया एक जना महिलामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ । मेरिङदेन गाउँपालिकाका–१ का २८ वर्षीय पुरूष, मेरिङदेन गाउँपालिकाका–२ का ५२ वर्षीय एक पुरूष र १४ वर्षीय एक बालकमा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ । आठराई त्रिवेणी गाउँपालिकाका–३ का १७ वर्षीय एक बालकमा डेङ्गीको सङ्क्रमण पुष्टि भएको जिल्ला अस्पतालले जनाएको छ ।
धरान, विराटनगर र झापाबाट ताप्लेजुङ आएकाहरूमा डेङ्गीको सङ्क्रमण पुष्टि भएको जिल्ला अस्पतालका ल्याब टेक्निसियन सन्तोष चौधरीले बताउनु भयो । कोही तराईतिर रहँदै सङ्क्रमित भएर आएका र केहीमा पछि डेङ्गी सङ्क्रमण देखा परेको अस्पतालले जनाएको छ । जिल्लाको सदरमुकाम समेत रहेको फुङलिङ नगरपालिकाले डेङ्गी नियन्त्रणका लागि प्रयास सुरू गरेको छ । फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनले डेङ्गीबाट बच्ने उपायहरू जिल्लामा रहेका रेडियोबाट प्रसारण गर्न, फेसबुक पेजमार्फत सार्वजनिक गर्न कर्मचारीलाई निर्देशन दिने बताउनु भयो ।
जिल्ला प्रसाशन कार्यालयले डेङ्गी सङ्क्रमणलाई मध्यनजर गरी सङ्क्रमणबाट बच्ने उपाय लागू गर्ने भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी टङ्कबहादुर भट्टराईले भन्नुभयो“ अहिलेसम्म १३ जनामा सङ्क्रमण पुष्टि भएको सूचना छ, अब प्रशासनले छलफल गरेर नियन्त्रणको लागि कार्य गर्नेछ ।” तराईका जिल्लामा विशेष गरी फैलिरहेको डेङ्गी हिमाली जिल्लामा समेत दैनिक रूपमा देखिनु खतराको सङ्केत भएको जिल्ला अस्पतालका मेडिकल जर्नलिष्ट डाक्टर महेश्वर गोसाईले बताउनु भयो । उहाँले हिमाली जिल्लामा डेङ्गी देखिनु सामान्य विषय नभएको बताउनु भयो । डाक्टर गोसाईले भन्नुभयो “एक जना डेङ्गी सङ्क्रमित सिकिस्त भएकाले जिल्ला बाहिर रेफर गरी पठायौँ । लामखुट्टेहरू यातायातको माध्यमबाट आइरहेका हुन्छन् । यसतर्फ पनि ध्यान दिनुपर्यो ।
जिल्लामा रहेका स्थानीय तहमा समेत डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ । हिमाली जिल्लामा डेङ्गी देखिनु खतरा नै हो । सबै सजग नहुने हो भने यसले महामारी कै रूप लिन पनि सक्छ । ” एजिप्ट एडिजाइको लामखुट्टेले टोक्दा डेङ्गीको सङ्क्रमण हुने चिकित्सकको भनाइ छ । डेङ्गीबाट बच्न सबै भन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु नै हो ।
सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार पहाडी जिल्लामा डेङ्गी सङ्क्रमण तीव्र गतिमा बढेको छ ।
साउनयता ७८ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी रोशन श्रेष्ठले बताउनु भयो । सूचना अधिकारी श्रेष्ठले हाल जिल्लामा १ सय ५० थान किट मात्र उपलब्ध छ । डेङ्गी सङ्क्रमितको सङ्ख्या बढेपछि जिल्लामा किटको अभाव हुने देखिपछि कोशी प्रदेश कार्यालयसँग किट माग गरिएको श्रेष्ठले बताउनु भयो । हालसम्म जिल्लामा डेङ्गी सङ्क्रमणबाट कारण मृत्यु भएको छैन । ०८० साउन महिनामा २६ जना महिला र ३१ जना पुरूषमा डेङ्गी सङ्क्रमण देखिएको जिल्ला अस्तालले जनाएको छ । जिल्ला अस्पतालमा ०८० वैशाखयता १ सय १२ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । दैनिक रूपमा डेङ्गी सङ्क्रमण बढ्दै गएका कारण बेडसमेत अभाव हुन थालेको जिल्ला अस्पतालका सूचना अधिकारी शेखर खत्रीले बताउनु भयो । डेङ्गी सङ्क्रमणका बिरामीको संख्या बढेपछि बेड अभावमा प्यासेज र हलमा राखेर उपचार गर्न थालिएको छ । जिल्लामा डेङ्गी सङ्क्रमण बढेपछि किट अभाव हुने अवस्था आएको जिल्ला अस्पतालले जनाएको छ । जिल्ला अस्पतालमा डेङ्गी परीक्षण गर्ने ५० थान किट मात्र रहेको अस्पताल प्रशासनले जनाएको छ ।
डेङ्गी नियन्त्रणका लागि सभापोखरी गाउँपालिकाले बजार क्षेत्रमा विषादी छर्किएको छ । डेङ्गी सङ्क्रमणलाई न्यूनीकरण गर्ने उद्देश्यले सभापोखरी गाउँपालिका–६, २, ३ र १ नम्बर वडामा विषादी छर्किएको सभापोखरी गाउँपालिका उपाध्यक्ष लक्ष्मी चापागाईले बताउनु भयो । उहाँले सभापोखरी गाउँपालिका–६ को देवलाइन, चाम्लिङटार, आर्मी क्याम्प, वडा–२ को बगैँचा टोल, वडा–३ को बाहृविसे बजार र वडा–१ को डके बजारमा लामखुट्टे मार्ने विषादी छर्किएको बताउनु भएको छ ।
सोलुखुम्बु प्रतिनिधि अञ्जु कार्कीका अनुसार साउनको दोस्रो सातासम्म जिल्लामा डेङ्गी सङ्क्रमित फेला परेका छैनन् । हिमाली जिल्ला भएका कारण डेङ्गीको सङ्क्रमण पुष्टि नभएपनि ढुक्कले बस्न सक्ने अवस्था नरहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी रामनारायण शाहले बताउनु भयो । सङ्क्रमण पूर्व सर्तकताका लागि जिल्लामा डेङ्गी टेष्ट किटको व्यवस्था गरिएको शाहले बताउनु भयो । उहाँले केहीदिन अघि मात्रै स्थानीय तहहरूमा डेङ्गी टेष्ट किट पठाइ सकिएकोे बताउनु भयो । सोलुदूकुण्ड नगरपालिका र खुम्बुपासाङल्हामु गाउँपालिकालाई ५-५ सय थान, जिल्ला अस्पताल फाप्लुलाई ५ सय थान, नेचासल्यान गाउँपालिका, लिखुपिके गाउँपालिका र महाकुलुङ गाउँपालिकालाई ३-३ सय थान र सोताङ गाउँपालिकालाई २ सय थान किट प्रदान गरिएको छ ।
खोटाङ प्रतिनिधि तारानाथ फुयलका अनुसार जिल्लामा डेङ्गी सङ्क्रमितको सङ्ख्या पाँच पुगेको छ । सङ्क्रमितहरू उपचारपछि घर फर्किएको जिल्ला अस्पतालका डाक्टर चतुरनन्द यादवले बताउनु भयो । डेङ्गी टेष्टका लागि जिल्ला अस्पतालमा २० ओटा किट आएको भएपनि हाल तीन ओटा किट मात्र उपलब्ध रहेको डाक्टर यादवले बताउनु भयो । डेङ्गी चेकजाँचका लागि थप किट प्रदेश स्वास्थ्य कार्यालयमा माग गरेको भएपनि किट कहिले आउने सो विषयमा आफूलाई जानकारी नभएको डाक्टर यादवले बताउनु भएको छ ।
ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार जिल्लामा साउन तेस्रो सातासम्म डेङ्गीको सङ्क्रमण दर शूण्य छ ।
कोशी प्रदेशका अरू जिल्लामा सङ्क्रमणदर बढिरहँदा जिल्लामा भने सङ्क्रमणदर शून्य छ । जिल्लाका दुई ओटा अस्पतालबाट डेङ्गी परीक्षण हुँदै आएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक शिवकुमार यादवले बताउनु भयो । ०८० असारदेखि जिल्ला अस्पताल रूम्जाटार र ओखलढुङ्गा सामुदायिक अस्पतालबाट दैनिक परीक्षण भइरहेपनि सङ्क्रमण दर भने शून्य छ । डेङ्गीसँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामीहरूको डेङ्गी परीक्षण गर्दा ०८० असारको पहिलो सातामा नै मोलुङकी एक बालिकामा सङ्क्रमण देखिएकोमा हाल बालिकालाई निको भइसकेको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक यादवले बताउनु भयो । स्थानीय तहरूले आँफैले पनि किट खरिद गरेर डेङ्गीको परीक्षण गर्नुपर्ने भएपनि स्थानीय तहहरूले टेष्ट किट किनेका छैनन् । दैनिक परीक्षण भइरहे पनि किटको अभावले परीक्षणको दायरा बढाउन कठिनाइ रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
सिद्धिचरण नगरपालिकामा साउनको तेस्रो सातासम्म डेङ्गी सङ्क्रमित फेला नपरेको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत पवन कुमार लामाले बताउनु भयो । मोलुङ गाउँपालिकाकी एक बालिकामा सङ्क्रमण देखिएको भएपनि हाल ती बालिका निको भइसकेको गाउँपालिका अध्यक्ष उत्तम राईले बताउनु भयो । मानेभञ्ज्याङ गाउँपालिकामा सङ्क्रमण नदेखिएपनि जोखिम भने उच्च रहेको गाउँपालिका उपाध्यक्ष आश्रचन राईले बताउनु भयो । उहाँले डेङ्गीको जोखिम नियन्त्रणका लागि कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको बताउनु भयो । खिजिदेम्बा गाउँपालिकामा सङ्क्रमणदर शून्य रहेको गाउँपालिकाका स्वास्थ्य शाखाका संयोजक इन्द्र गौतमले बताउनु भयो । उहाँले स्वास्थ्य संस्थाहरूमा आउने ज्वरोका विरामीहरूलाई विशेष निगरानी राख्न आग्रह गरिएको बताउनु भयो । लिखु गाउँपालिमा डेङ्गीको सङ्क्रमण नदेखिएको गाउँपालिका अध्यक्ष अशोक कार्कीले बताउनु भयो । चम्पादेवी गाउँपालिकामा डेङ्गी सङ्क्रमित नरहेको गाउँपालिका उपाध्यक्ष दिलमाया मगरले बताउनु भयो । सुनकोशी गाउँपालिकामा हालसम्म डेङ्गीको सङ्क्रमण नदेखिएको गाउँपालिका अध्यक्ष कमल तामाङले बताउनुभयो । सङ्क्रमण नहोला भन्न सकिने अवस्था नरहेकोेले स्वास्थ्यकर्मीहरूलाई जोखिम देखिने अवस्था भएमा सचेतना र बिरामीहरुलाई चेकजाँचमा जोड दिन आग्रह गरिएको अध्यक्ष तामाङले बताउनु भयो । चिशंखुगढी गाउँपालिकामा डेङ्गीको सङ्क्रमण दर शून्य छ । डेङ्गी रोकथामका लागि स्वास्थ्यकर्मीमार्फत सचेतनाका कार्यक्रमलाई अघि बढाइएको गाउँपालिका उपाध्यक्ष सन्तोषबाबु थापाले बताउनु भएको छ । ओखलढुङ्गामा पनि डेङ्गी सङ्क्रमणको लागि जोखिमयुक्त जिल्ला भएकोले सतर्क रहन जनस्वास्थ्य निरीक्षक शिवकुमार यादवको सुझाव छ ।
धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार जिल्ला अस्पतालमा डेङ्गी टेष्ट किटको अभाव भएको छ ।
जिल्ला अस्पतालमा टेष्ट किट अभाव भएर मगाएको भएपनि किट नआएको धनकुटा अस्पताल निमित्त मेडिकल सुपरिटेन्डेण्टन डाक्टर अमिताभ ठाकुरले बताउनु भयो । उहाँले टेष्ट किट उपलब्ध गराउने जिम्मा स्वास्थ्य कार्यालयको भएपनि उपलब्ध नगराएपछि अब अस्पतालले नै खरिद गर्ने तयारीमा रहेको बताउनु भयो । डेङ्गीको सङ्क्रमण बढ्दै गएदेखि नै टेष्ट किटको अभाव भएको ठाकुरको भनाइ छ ।
स्वास्थ्य कार्यालय धनकुटाका निमित्त प्रमुख गोकुल भण्डारीले टेष्ट किटको व्यवस्थापन भइरहेको र अभाव नभएको बताउनु भयो । टेष्ट किट खरिदका लागि बजेट अभावका कारण समस्या भएपनि त्यसको व्यवस्थापन भइरहेको र नियन्त्रणका लागि स्थानीय तहसँग अनुरोध गरिएको उहाँले बताउनु भयो ।
धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले डेङ्गी नियन्त्रणका लागि स्वास्थ्य कार्यालयसँग समन्वय भइरहेको र त्यसका लागि आवश्यक योजना तयार गरी लागिपरेको बताउनु भयो । उहाँले आवश्यक परेमा अन्य जिल्ला तथा स्थानीय तहले सञ्चालन गरेजस्तै ‘खोज र नष्ट गर’ अभियान चलाउने तयारीमा रहेको बताउनु भयो । जिल्लामा साउन २१ गतेसम्ममा १ सय ८ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ ।
तेहृथुम प्रतिनिधि सुरेश खत्रीका अनुसार जिल्लामा ५८ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयले उपलब्ध भएका ९० ओटा किटमध्ये ४० ओटा किट जिल्ला अस्पताललाई उपलब्ध गराएको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी तोयानाथ दाहालले बताउनु भयो । उहाँले हाल जनस्वास्थ्यसँग ४० ओटा मात्र किट रहेकाले किट अभाव हुन सक्ने बतानु भयो । प्रदेश स्वास्थ्य निर्देशनालयसँग ३ सय थान किट माग गरिएको भएपनि किट प्राप्त नभएको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी दाहालको भनाइ छ । जिल्ला अस्पतालका सूचना अधिकारी महेन्द्रकुमारी खड्काले डेङ्गीको उपचारपछि केहीलाई घर पठाएको र ज्वरोलगायतले समस्या हुनेहरूलाई अस्पतालमा भर्ना गरी उपचार गर्दै आएको बताउनु भयो । डेङ्गीबाट बच्न म्याङलुङ नगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरेको छ । साउन १९ गते बाट बजार क्षेत्रमा लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न घरदैलो अभियान गरिएको छ । मेयर सञ्जयकुमार तुम्वाहाङफे, जनप्रतिनिधि, सुरक्षा निकाय, स्वास्थकर्मी अभियानमा सहभागी भएका छन् ।
पाँचथर प्रतिनिधि इवारा जवेगु लिम्बूका अनुसार जिल्लामा अस्पतालमा डेङ्गी टेष्ट किटको अभाव भएको छ ।
डेङ्गी सङ्क्रमित प्रतिदिन बढेका कारण डेङ्गी किटको अभाव हुन देखिएको जिल्ला अस्पतालका डाक्टर गणेश वनले बताउनु भयो । ०८० असारयता १६ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएकोे जिल्ला स्वास्थ्य कार्यालय सूचना अधिकारी लवरेन्स शाहले बताउनु भयो । शङ्कास्पद बिरामीको स्वास्थ्य परीक्षणका क्रममा सात जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको जिल्ला अस्पतालका डाक्टर गणेश वनले बताउनु भयो । डाक्टर वनले जिल्ला अस्पतालबाट साउन २२ गतेसम्म कुनै पनि सङ्क्रमितलाई जिल्ला बाहिर रेफर नगरिएको बताउनु भयो । उहाँले सङ्क्रमितको अवस्था गम्भीर भए तत्काल उपचारको लागि छुट्टै आइसोलेशन कक्ष र आइसीयू नभएको कारण रेफर गर्नुपर्ने अवस्था हुने बताउनु भयो । जिल्ला सामुदायिक अस्पतालमा असारयता नौ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको गणेशमानसिंह अस्पतालका सुचना अधिकारी कर्ण माङ्लाकले बताउनु भयो । सङ्क्रमितमध्ये ६ जनालाइ रेफर गरिएको छ भने तीन जनाले उपचारपछि घरमै स्वास्थ्य लाभ लिइरहेका छन् । जिल्लामा सङ्क्रमितमध्ये सबैभन्दा धेरै फिदिम नगरपालिकाका छन् । फिदिम नगरपालिकाका १२ जना, हिलिहाङ गाउँपालिकाका दुई जना, फालेलुङ गाउँपालिकाका एक जना र फाल्गुनन्द गाउँपालिकाका एक जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल प्रशासनका अनुसार धेरैजसो सङक्रमितहरू बाहिरी जिल्लाबाट आएका छन् ।
डेङ्गी लागि फिदिम नगरपालिकाले वडा–१, २ र ४ भित्र पर्ने विभिन्न स्थानहरूमा सरसफाइ गर्ने, पानी जमेका खाल्डा पुर्ने, सन्देशमूलक सूचना जाने गरी पर्चापम्प्लेट वितरण गर्ने, सञ्चार माध्यमबाट सूचना प्रसारण गर्ने र लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरेको फिदिम नगरपालिकाका उपमेयर राधाकृष्ण न्यौपानेले बताउनु भएको छ ।
इलाम प्रतिनिधि मनोज अधिकारीका अनुसार जिल्लामा डेङ्गी रोग देखापरेपछि नियन्त्रण अभियान शुरु गरिएको छ ।
स्वास्थ्य कार्यालयका डेङ्गु रोगका फोकल पर्सन विमल बरालले ०८० साउन २१ गतेसम्म जिल्लामा २१ जनामा डेङ्गु पुष्टि भएको बताउनु भयो । इलाम नगरपालिका र स्वास्थ्य कार्यालयको अगुवाइमा डेङ्गु सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सुरु गरिएको बरालले बताउनु भयो । डेङ्गी रोगको प्रमुख कारण लामखुट्टे र यसले अण्डा पार्ने पानी जम्ने स्थानहरू खोजी गर्दै नष्ट गर्ने अभियान सञ्चालन गरिएको फोकल पर्सन विमल बराल भनाइ छ । इलाम नगरपालिकाका मेयर केदार थापाले बिहान र साँझको समयमा लाखखुट्टले टोक्ने सम्भावना बढी भएकोले सो समयमा थप सचेत हुन आवश्यक रहेको बताउनु भयो ।
झापा प्रतिनिधि नरेश खातीका अनुसार जिल्लामा जिल्लामा ४ सय ५४ जनामा डेङ्गीको सङ्क्रमण फैलिएको छ ।
जिल्लाका १५ ओटै स्थानीय तहहरूमा डेङ्गी रोकथाम र नियन्त्रणका लागि विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । विर्तामोड, दमक, शिवसताक्षी, गौरादह, भद्रपुर नगरपालिका, गौरीगञ्ज र बाहृदशी गाउँपालिका डेङ्गीका लागि जोखिमपूर्ण क्षेत्र भएको कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका तथ्याङ्क अधिकृत लुडामणि लुइटेलले बताउनु भयो । स्वास्थ्य मन्त्रालय, कोशी प्रदेशका कार्यक्रम अधिकृत जीवन चम्लागाईँले जिल्लामा साउनको दोस्रो साता सम्ममा २ सय ३८ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको बताउनु भयो । मेचीनगर नगरपालिकाका विभिन्न वडामा डेङ्गीका सङ्क्रमित फेला परेपछि नगरपालिकाले यसको रोकथाम र नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान शुरू गरेको स्वास्थ्य शाखा संयोजक सविता सापकोटा निरौलाले बताउनु भयो । जिल्ला स्वास्थ्य कार्यालयका महामारी रोग फोकल पर्सन कुलबहादुर पौडेलले सन् २०२२ मा जिल्लामा झण्डै ५८ हजार डेङ्गी सङ्क्रमितको तथ्याङ्क रहेको बताउनु भएको छ ।
मोरङ प्रतिनिधि विनोद सुवेदीका अनुसार जिल्लामा ९ सय १८ जना भन्दा बढीलाई डेङ्गीको सङ्क्रमण पुष्टि भएपछि विराटनरका चार ओटा अस्पतालमा डेङ्गीको निःशुल्क उपचार सुरू गरिएको छ । कोशी अस्पताल, प्रादेशिक अस्पताल, रानी अस्पताल र बैजनाथपुर अस्पतालमा डेङ्गी सङ्क्रमितको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको विराटनगर महानगरपालिकाले जनाएको छ । विराटनगर महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हैदर अलिले महानगरपालिका क्षेत्रभित्र सञ्चालित चार ओटा अस्पतालहरूमा उपचार तथा परीक्षण निःशुल्क गरिएको बताउनु भयो । अलिले ‘डेङ्गीको परीक्षण मात्र नभई उपचारका क्रममा डेङ्गीसँग सम्बन्धित अन्य परीक्षण पनि निःशुल्क गर्ने व्यवस्था मिलाइएको बताउनु भयो ।
बर्खाको समयमा डेङ्गीको प्रकोप फैलिन सक्ने जोखिम रहेका कारण डेङ्गी नियन्त्रणका लागि सर्तकता अपानाइएको विराटनगर महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हैदर अलिले बताउनु भयो । साउन २१ गतेसम्म विराटनगरमा १८ जना डेङ्गीका बिरामी फेला परेका छन् । विराटनगरमा लामखुट्टेका लार्भा खोज्ने र नष्ट गर्ने, औषधि छर्कने र बिरामीको उपचार गर्ने व्यवस्था मिलाइएको छ । स्थानीय स्वास्थ्य स्वयंसेविकामार्फत हरेक स्वास्थ्य स्वयंसेविकाको मातहतमा १ सय ४८ ओटा आमा समूह गठन गरिएको छ । विराटनगर महानगरपालिकाका १९ ओटै वडाका कुनै पनि टोलमा डेङ्गी सङ्क्रमित भेटिए स्वस्थ्यकर्मीसहित आमा समूहलाई परिचालन गरेर लामखुट्टेका लार्भा खोज्ने र नष्ट गर्ने काम तत्कालै गर्ने गरिएको छ । साउन १९ गतेदेखि विराटनगर महानगरपालिकाका १९ ओटै वडामा एकैसाथ खोज र नष्ट गर अभियान सञ्चालन भइरहेको महानगरपालिकाले जनाएको छ ।
ग्रामथान गाउँपालिकाले डेङ्गी नियन्त्रणका लागि अभियान सञ्चालन गरेको छ । डेङ्गी फैलाउने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियानसँगै सचेतनामूलक कार्यक्रम लिएर स्वास्थ्यकर्मीको टोली टोलटोलमा पुग्न थालेको छ । ग्रामथान स्वास्थ्य शाखाको समन्वय तथा ग्रामथानका स्वास्थ्य केन्द्रहरूमा कार्यरत स्वास्थ्यकर्मीहरूले स्थानीयवासीहरूलाई डेङ्गीबाट बच्ने उपायहरूको बारेमा जानकारी दिँदै लामखुट्टे नियन्त्रणमा विशेष ध्यान दिन सचेत गराएका छन् । प्राथमिकता स्वास्थ्य केन्द्र झोराहाटमा निः शुल्क डेङ्गी जाँच गर्ने कार्य पनि सञ्चालन गरिएको ग्रामथान स्वास्थ्य शाखा प्रमुख राजकुमार झाले बताउनु भयो ।लेटाङ नगरपालिकामा डेङ्गी फैलिए पनि यकिन तथ्याङ्क सङ्कलन गर्न नसकिएको लेटाङ नगरपालिकाका जनस्वास्थ्य अधिकृत केशव रिजालले बताउनु भयो । स्वास्थ्यकर्मी, कर्मचारीहरू नै डेङ्गी सङ्क्रमणका कारण बिरामी भएर उपचारमा रहेकाले यकिन तथ्याङ्क सङ्कलन हुन नसकेको रिजालले बताउनु भयो ।
जिल्लाका १७ ओटै स्थानीय तहहरूले डेङ्गी नियन्त्रणका लागि अभियान सञ्चालन गरिरहेको स्वास्थ्य कार्यालय मोरङ, ले जनाएको छ । स्वास्थ्य कार्यालयका प्रमुख सुरेश मेहेताले डेङ्गी देखापरेका र नपरेका स्थानीय तहहरूले पनि डेङ्गीविरूद्ध जनचेतना फैलाइरहेको बताउनु भयो ।जिल्लामा ०८० असार १ गतेदेखि साउन २१ गतेसम्म अवधिमा जिल्लामा १ हजार १ सय २२ जनामा डेङ्गी सङ्क्रमित फेला परेको स्वास्थ्य कार्यालय, मोरङका स्वास्थ्य निरीक्षक राम लामाले बताउनु भयो । जिल्लाको पथरीशनिश्चरे नगरपालिकामा सबै भन्दा बढी ८ सय जनामा डेङ्गी पुष्टि भएको छ । हालसम्म जिल्लाका सात ओटा स्थानीय तहमा डेङ्गी संक्रमित फेला परेको भएपनि दश ओटा स्थानीय तहमा डेङ्गीका विरामी फेला परेको जानकारी नआएको लामाले बताउनु भयो ।
जिल्लामा डेङ्गीका सङ्क्रमित बढेसँगै किटको अभाव भएको छ । विशेष गरी पथरीशनिश्चरे नगरपालिका र लेटाङ नगरपालिकामा परीक्षण किटको धेरै माग आएको स्वास्थ्य कार्यालय, मोरङका स्वास्थ्य निरीक्षक राम लामाले बताउनु भयो । जिल्लामा डेङ्गी टेष्ट किट स्टक पनि धेरै नरहेको र अत्यावश्यक सेवाका लागि ३० ओटा किटमात्रै मौज्दात राखिएको लामाले बताउनु भएको छ ।
सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार जिल्लामा डेङ्गीले महामारीको रूप लिएको छ । जिल्लामा ४ हजार ५ सय ५८ जना बढीमा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ । डेङ्गीका कारण जिल्लामा नौ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबै धरान नगरपालिकामा हुन् । डेङ्गीका कारण सबै भन्दा प्रभावित धरानमा स्वास्थ्य मन्त्रालय तथा प्रदेशबाट विशेषज्ञ टोलीसहित डेङ्गी रोकथाम तथा उपचार केन्द्र स्थापना गरिएको छ ।
उदयपुर प्रतिनिधि राकेश नेपालीका अनुसार जिल्लामा डेङ्गी सङ्क्रमणको जोखिम उच्च देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका सरकारी स्वास्थ्य संस्थामा मात्रै साउन २१ गते ५१ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ । डेङ्गीका कारण एक जनाको मृत्यु भएको छ ।
कटारी नगरपालिकामा डेङ्गी सङ्क्रमणबाट ०८० साउन १० गते २९ वर्षीय एक पुरूषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कटारी नगरपालिका–४ का सङ्क्रमित पुरूषको हिप ज्वाइन्टको शल्यक्रियापछि ज्वरो आएर जाँच गर्दा डेङ्गी पोजिटिभ देखिएको थियो । डेङ्गी सङ्क्रमण पुष्टि हुनेहरूमा सदरमुकामस्थित त्रियुगा नगरपालिकामा २१ जना, बेलका नगरपालिकामा २१ जना, चौदण्डीगढी नगरपालिकामा ६ र कटारी नगरपालिकामा तीन जनामा पुष्टि भएको छ । गाउँपालिकाहरू पहाडी क्षेत्रमा रहेकाले अहिलेसम्म सङ्क्रमित फेला नपरेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बृजकुमार दासले बताउनु भयो । जिल्लामा डेङ्गीलगायत ज्वरोका दैनिक १ सय बढी बिरामी जिल्ला अस्पताल तथा निजी अस्पतालमा उपचारका लागि आउने गरेको स्वास्थ्य प्रमुख दासले बताउनु भयो । कतिपयले निजी अस्पतालमा परीक्षण गराउने गरेकाले पनि एकिन तथ्याङ्क आउन नसकेको दासको भनाइ छ ।
डेङ्गी सङ्क्रमितको संख्या बढ्दै गएपछि जिल्लाका सरकारी अस्पतालमा डेङ्गी परीक्षण किट अभाव भएको कार्यालयले जनाएको छ । दैनिकजसो बिरामीको सङ्ख्या बढ्ने गरेकाले किट सकिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी चिरञ्जीवी निरौलाले बताउनु भयो । प्रदेशबाट १ सय ५० थान डेङ्गी जाँच किट पठाएकोमा लगभग सबै किट सकिएको सूचना अधिकारी निरौलाको भनाइ छ । थप किट माग गरेपनि साउन २१ गतेसम्म प्राप्त नभएको निरौलाले बताउनु भयो । स्थानीय तहहरूमा मौज्दात राखिएका डेङ्गी किटसमेत सकिएका छन् ।
बेलका नगरपालिकामा पनि डेङ्गीका बिरामीको सङ्ख्यामा वृद्धि भएपछि डेङ्गी जाँच किट अभाव भएको नगरपालिकाका जनस्वास्थ्य अधिकृत विनोद मिश्रले बताउनु भयो । चौदण्डीगढी नगरपालिकामा पनि डेङ्गी जाँच किट अभाव भएको भएको छ । किट अभाव भएपनि अहिले डेङ्गी बिरामी चेकजाँचको लागि जिल्ला अस्पताल नै पठाउने गरेको स्वास्थ्य शाखा प्रमुख श्रीकान्त चौधरीले बताउनु भयो । त्रियुगा नगरपालिकाले डेङ्गी नियन्त्रण गर्न फगिङ मेसिन प्रयोग गरेको मेयर वसन्त बस्नेतले बताउनु भयो । सुरूआती चरणमा ज्वरो आउने र सातादिनसम्म निको नभएपछि उपचार गर्न आउनेमा डेङ्गी देखा परेको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेण्ड डाक्टर ज्ञानेन्द्र झाले बताउनु भएको छ ।