टिकापुर नगरपालिका—३ शंकरपुरस्थित केदारेश्वर आधारभूत विद्यालयमा साउन २० गते तोडफोड भएको छ । तोेडफोडका कारण विद्यालयका झ्याल, ढोका, डेक्स, बेन्च, फर्निचर तथा पुस्तकमा क्षति पुगेको केदारेश्वर आधारभूत विद्यालयका प्रधानाध्यापक बद्रीप्रसाद भट्टराईले बताउनु भयो । तोडफोडबाट झण्डै ५० हजार बराबरको क्षति भएको उहाँले जानकारी दिनु भयो ।
सार्वजनिक सम्पत्ति तथा विद्यालयमा तोडफोड भएको घटना निन्दनीय भएकाले घटनामा संलग्नहरूको पहिचान गरी कार्वाहीको लागि प्रहरीमा उजुरी दिने तयारी भइरहेको टिकापुर नगरपालिका ३ का वडाध्यक्ष ऋषी विकले बताउनु भयो । विद्यालयमा तोडफोड भएको फोनमार्फत जानकारी प्राप्त भएकोले प्रहरी परिचालन गरी घटनाका संलग्न व्यक्तिहरुको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय, टिकापुरका डिएसपी तुल्सीराम अर्यालले बताउनु भयो ।