भीमदत्त नगरपालिका–१४ वनकट्टीस्थित शान्ति आधारभूत विद्यालयमा भवनको अभाव र स्कुलमा पर्खाल नहुँदा बालबालिकाको पठनपाठनमा समस्या भएको छ ।
जेठ महिनाको वर्षासँगै आएको हावाहुरीले विद्यालयको छानो उडाएपछि कक्षा ६, ७ र ८ मा अध्ययनरत बालबालिकाहारुलाई एउटै कक्षा कोठामा राखेर पढाउनु पर्दा पठनपाठनमा समस्या भएको हो । विद्यालयको भवन हावाहुँरीले उडाएपछि वर्षायाममा परेको पानीले कक्षाकोठा नै पानीले भिजाउने गरेका कारण विद्यार्थीहरुको पठनपाठन प्रभावित हुदै आएको छ ।

हावाहुरीले विद्यालयको दुई कोठे भवनको जस्तापाता उढाएपछि विद्यार्थीलाई बस्नका लागि समस्या भएको प्रधानाध्यापक उत्तम विष्टले बताउनु भयो । वि.सं.२०५६ सालमा स्थापना भएको विद्यालयमा अहिले १ सय ९० जना विद्यार्थी अध्ययनरत छन् । यहाँ कक्षा ८ सम्म पढाई हुन्छ । विद्यालय भवन धेरै पुरानो र जीर्ण अवस्थामा रहेको छ । जिर्ण अवस्थामा रहेको विद्यालय भवन पुनर्निर्माण गर्न कुनै पनि निकायबाट सहयोग नहुँदा शिक्षक, विद्यार्थीले जोखिममै पठनपाठन सञ्चालन गर्नु परेको प्रधानाध्यापक विष्टको भनाइ छ ।
उहाँका अनुसार विद्यालय बाहिरको पर्खाल (बोन्ड्री) पनि हावाहुरीले भत्काउँदा छाडा चौपायाहरु स्कुल भित्रै आउने भएकोले विद्यार्थीहरु सुरक्षाको चुनौती बढेका छे । विद्यालय मा पर्खाल लगाउनका लागि स्थानीय सरकारसँग आग्रह गरिएको भए पनि सुनवाइ हुन नसको छैन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर बोहराले स्थानीय तहलाई विद्यालय व्यवस्थापन गर्न सहयोगका लागि पत्राचार गरिएको भए पनि सुनवाइ हुन नसकेको बताउनु भयो ।

हाँवाले उढाएको जस्ता फेर्न स्थानीय तहले आनाकानी गरेपछि पठनपाठनमा निकै समस्या हुँदा स्थानीय बासिन्दा जुटेर विद्यालयको छाना निर्माण गर्न थालेको विद्यालय व्यवस्थापन समितिका सदस्य तथा स्थानीय अभिभावक देवबहादुर दमाईले बताउनु भयो । विद्यालय नजिकै खोला र राष्ट्रिय निकुञ्ज भएको कारण यसरी अव्यवस्थित तरिकाले पठनपाठन गराउँदा दुर्घटनाको जोखिम बढेको पनि उहाँले बताउनु भयो । बर्षैनि हावाहुरीले क्षति गर्दै आएको सो विद्यालयका अधिकाशं कक्षाकोठाहरु अतिजीर्ण र पुरानो संरचनामा बनेका हुनाले कुनै पनि बेला मानवीय क्षति हुन सक्ने सम्भावना रहेको अभिभावकहरुको गुनासो छ ।
विद्यालयको अगाडी रहेको खोलामा वर्षाको समयमा पानीको बहाव बढेर विद्यालय कक्षाकोठामा पस्ने गरेको छ ।‘खोलाको पानी कक्षाभित्र आएर कोठा जलमग्न हुन्छ, हामी कहाँ बसेर पढ्ने ? कक्षा ८ की विद्यार्थी वर्षा ओडले भन्नु भयो ‘विद्यालयको पर्खाल नहुँदा स–साना विद्यार्थी खेल्दाखेल्दै खोलामा खस्ने डर छ ।’

नजिकै राष्ट्रिय निकुञ्ज हुनाले वन्यजन्तु पनि विद्यालय परिसरमा भित्रिन सक्ने सम्भावना रहेकाले पर्खाल निर्माण गर्न आवश्यक रहेको शिक्षिका शुशीला रेग्मीले बताउनु भयो । स–साना विद्यार्थी नजिक रहेको खोलामा खसेर डुब्ने जोखिम पनि उत्तिकै रहेको र खोलाको पानी कक्षामा पसेर पढाइ प्रभावित हुने गरेको उहँले बताउनु भयो ।
तीन महिना वितिसक्दा समेत विद्यालय भवन पुनर्निर्माण तथा मर्मत हुन नसकेपछि बालबालिकाहरु जोखिम मोलेरै भए पनि अध्ययन गरिरहेका शिक्षिका रेग्मीको भनाइ छ ।भीमदत्त नगरपालिका–१४ का वडाध्यक्ष भोजराज जोशीले विद्यालयको समस्या समाधानका लागि पहल गरिरहेको बताउनु भयो । हाम्रो विद्यालय हो यसलाइृ हामी सबैले मिलेर बनाउनु पर्दछ ।

संघीय सरकारबाट आउने बजेटमा कटौती भएको कारण नगरपालिकाले ३ लाख बजेट मात्रै विनियोजन गरेका कारण बजेटको अभावले विद्यालय भवन तथा पर्खाल निर्माणलगायतका समस्या हाल समाधान गर्न नसकिएको उहाँले बताउनु भयो । नेपालको संविधान २०७२ को धारा ३९ को उपधारा २ मा बालबालिकाको हक अन्र्तगत प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद, मनोञ्जन तथा सर्वाङ्गिर्ण ब्यक्तित्व विकासको सुनिश्चिता गरिएको भएता पनि त्यसको प्रभावकारी व्यवस्थापन हुन सकेको छैन् ।








