परशुराम नगरपालिका ७ स्थित कसान खोला र नौला खोलामा पुल निर्माण हुन नसक्दा यस क्षेत्रका बालबालिकाहरु ज्यान जोखिममा राखेर खोला तर्न बाध्य भएका छन् । वर्षातको समयमा आउने अत्याधिक बाढीका कारण मसिनजला गाउँका दलितपरिवारका बालबालिकाहरु खोला तर्न नसकेर पढाइ नै छोडन बाध्य भएका छन् । मसिनजला गाउँमा १३ घर दतिल समुदाय रहेका छन् । परशुराम नगरपालिका–६ मसिनजला गाउँका रोहन दमाई सोही नगरपालिका–७ स्थित शिवशंकर माध्यमिक विद्यालयमा कक्षा तीनमा पढ्नु हुन्छ । खोलामा पुल नभएका कारण गत तीन महिनादेखि विद्यालय नगएको उहाँले बताउनु भयो । ‘वर्षात्मा खोला आउँछ, तर्न सक्दैनौ । हामी तीन महिनादेखि विद्यालय जान सकेका छैनौँ,’ रोहनले भन्नु भयो, ‘ वर्षात सकिएपछि मात्रै विद्यालय जाने गर्दछौँ ।’
शिवशंकर माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत राजेश धामीले विद्यालयमा जाँदा पर्ने ठुलीगाड खोलामा पुल नभएका कारण पानी परेका बेला अभिभावकको सहयोग बिना विद्यालय जान नसकिने अवस्था रहेको बताउनु भयो । उहाँले भन्नु भयो– ‘अरु बेला सहजै पार गर्न सकिने ठूलीगाड खोला पानी पर्ने बित्तिकै उर्लिएर आउँछ । उर्लिएर आएको खोला तर्न ज्यानको बाजी लगाउनु परेको छ । जुत्ताचप्पल फुकालेर अरूको सहायतामा खोला तर्नुपर्छ । कहिले किताब, कापी त कहिले जुत्ता चप्पल खोलामा बग्छन् । हामी गाउँबाट ६० / ७० जना विद्यार्थी ज्यान जोखिममा राखेर विद्यालय जानेआउने गर्दछौँ ।’ आफूहरू ज्यान जोखिममा राखेर खोला जेनतेन विद्यालय पुग्ने गरेको भए पनि स–साना बालबालिकाहरु खोला गर्न नसक्ने भएको प्रत्येक वर्षको तीन महिना उनीहरु पढन पाउने अधिकारबाट वञ्चित हुनु परेको कक्षामा १० मा अध्ययनरत धना खत्रीले गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो– ‘ज्यान हत्केलामा राखेर विद्यालय आउनुपर्छ । पुल बनाइ दिन आग्रह गर्दा कसैको ध्यान गएको छैन् ।’ विद्यालय जाँदा बाटोमा पर्ने कसान खोला र नौला खोलामा पुल नहुँदा वर्षातको समयमा खोलाहरु उर्लेर आउने भएकोले विद्यार्थीहरुको ज्यान नै जोखिममा पर्ने भएकोले विद्यालय नपठाउने गरेको स्थानीय मञ्जु दमाईले बताउनु भयो । उहाँले भन्नु भयो–, ‘हाम्रो गाउँमा धेरै समस्या छ । बालबालिका खोलामा पुल नहुँदा तीन चार महिना घरमै बस्छन् । चुनावको समयमा नेताहरू पुल हाल्दिन्छु भनेर आउनु भएको थिया े। समिति पनि गठन भयो । तर, पुल बनेन् ।’विद्यार्थीले खोला तर्न नसक्ने भएपछि यस क्षेत्रका अभिभावकहरू विद्यार्थीलाई खोला तार्न पालो लगाउने गरेका छन् । कराली, खालगडा, भोरकुण्डा र मसिनजलाका ५० / ६० जना विद्यार्थीलाई दैनिक खोला तार्नु पर्ने करालीका स्थानीय रामदत्त अवस्थी बताउनु हुन्छ ।
उहाँले खोलामा पुल निर्माणका लागि नगरपालिकासँग पटकपटक अनुरोध गरिएको भए पनि हालसम्म पुल निर्माणको कार्य नभएपछि स्थानीय नागरिक र बालबालिकाहरुले वर्षातको समयमा सास्ती खेप्नु परेका बताउनु भयो । कक्षासम्म पढाइ हुने शिवशंकर माध्यमिक विद्यालयमा टाँढाटाँढाबाट विद्यार्थीहरू पढ्न आउने गरेको र खोलाहरुमा पुल नभएका कारण विद्यार्थीहरुले ज्यान जोखिममा राखेर खोला तर्नु पर्ने बाध्यता रहेको शिक्षक विरेन्द्रबहादुर साउदले बताउनु भयो । उहाँले भन्नु भयो– ‘वर्षाद्मा बाटोघाटो र खोला नालाका समस्या विद्यार्थीले भोगिरहेका छन् । कसान, घट्टे, ठूलीगाड, पुन्तुरा, र रंगुन खोला लगाएतमा पुलको समस्या छ । कापी, किताव बगाएर विद्यार्थी आउँछन्, आकाशमा बादल लाग्ने वितिक्कै खोला आउँछ सर भनेर पढाइ छोडेर घर जान्छन् । सानो उमेरबा बालबालिकाहरु त तीन महिना विद्यालय नै आउदैनन् ।’
शिवशंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक केशवराज अवस्थी खोला तर्न नसेकर विद्यार्थी विद्यालय नआउने गरेको बताउनु हुन्छ । उहाँ भन्नु हुन्छ, ‘बालबालिका आफ्नो अधिकारबाट पनि वञ्चित भएका छन् । स्थानीय, प्रदेश र संघीय सरकारले बालबालिकाको उज्जवल भविष्यका लागि भएपनि ती खोलामा पुल बनाइदिनु पर्छ ।’ परशुराम नगरपालिका–६ का वडाध्यक्ष खगेन्द्रबहादुर सिंहले खोलामा पुल निर्माणका लागि प्रदेश र संघीय सरकारसँग पटकपटक पहल गर्दा पनि सुनवाइ हुन नसक्दा बालबालिकाका साथै स्थानीयहरुले सास्ती खेप्नु परेको बताउनु भयो ।