ग्रामिण क्षेत्रमा स्तरीय स्वास्थ्य सस्थाको अभाव तथा ग्रामिण महिलाहरुको स्वास्थ्य संस्थामा सहज पुहँच नभएकै कारण ग्रामिण क्षेत्रका सुत्केरीहरुले बाटोमै बच्चा जन्माउनु पर्ने बाध्यता रहेका छ । परशुराम नगरपालिका–८ अैडुग्रांकी विमला नेगीलाई सुत्केरी व्याथा लागेपछि स्थानीयहरुले अस्पताल लैजादै गर्दा साउन २० गते बाटोमै शिशुलाई जन्म दिनु भएको छ ।
प्रसव पीडा सुरु भएपछि बिमलालाई स्टेचरमा बोकेर अस्पताल लैजादै गरको अवस्थामा अस्पताल नपुग्दै उहाँले बाटोमै शिशुलाई जन्म दिएको स्थानीय कविता धमलाले बताउनु भयो ।
गत असार महिनामा पनि परशुराम नगरपालिका–८ जमरानीकी मिना लुहारले बाटोमै शिशुलाई जन्म दिनुभएको थियो । गाउँमा स्थापना गरिएका स्वास्थ्य संस्था स्तरीय नहुनु र भौगोलिक विकटताका कारण यहाँका महिलाहरु बाटोमै सुत्केरी हुन बाध्य भएको स्थानीय भुपेन्द्र धामीले बताउनु भयो ।
उहाँले भन्नु भयो–‘वर्षातले बाटो अबरुद्ध भएको छ । गाउँमा स्तरीय स्वास्थ्य संस्था छैनन् । यहाँका महिलाले वर्षेनी यस प्रकारका समस्या भोग्दै आउनु भएको छ ।’
परशुराम नगरपालिका–८का वडाध्यक्ष दिनेशप्रसाद जोशीले वर्षातको कारण सडक अबरुद्ध हुँदा यातायातका साधान सञ्चालन हुन नसकेको र गाउँमा सुविधासम्पन्न स्वास्थ्य संस्थाको अभावमा स्थानीय तथा गर्भवतीहरुले सास्ती भोग्नु परेको बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘सडक कच्चि छन् । वर्षातमा गाडी चल्दैनन् । बिरामीलाई बोकेर अस्पताल लैजाँदै गर्दा ढिला हुन्छ । गर्भवतीहरुले बाटोमै शिशु जन्माउनु पर्ने बाध्यता छ ।’
उहाँले जमरानी आधारभूत स्वास्थ्य केन्द्रको स्तरोउन्नती गरेर समस्या समाधान गर्न आफूले पहल गरिरहेको बताउनु भयो । – शेरबहादुर भण्डारी