६ वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका आरोपित बरहथवा नगरपालिका–७ का २९ वर्षीय उदयकुमार पंडित कुम्हारलाई जिल्ला प्रहरी कार्यालय मलङ्गवाले ११ वर्ष पछि साउन १६ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई ०६६ जेठ २ गते बलात्कार गरी फरार भएका थिए । पीडित पक्षले आरोपित विरुद्ध २०६६ साउन ५ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवामा उजुरी दिएका थिए । त्यस्तै जिल्ला अदालतले ०६९ असार ३१ गते आरोपितलाई कसुरदार ठहर गर्दै १२ वर्ष कैद सजाय र ५० हजार क्षतिपूर्ति भराउने गरी फैसला गरेको श्रेस्तेदार विश्वनाथ आर्यालले जानकारी दिनु भयो ।
आरोपित कुम्हारलाई प्रहरीले उसकै गाउँमा लुकिछिपी बस्दै गरेको अवस्थामा ०८० साउन १६ गते गिरफ्तार गरी साउन १७ गते जिल्ला अदालतमा पेश गरेको र अदालतले आरोपितलाई सजाय भुक्तानको लागी सिन्धुली जिल्ला कारागारमा पठाएको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिनु भयो ।