संविधानको मौलिक हक अन्तर्गत धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाईमा पहुँचको हक हुनेछ भनी स्पष्ट व्यवस्था गरिएको भए पनि भिमदत्त नगरपालिका–१ रौटेला र बाराकुण्डाका २ सय घरपरिवारहरुले चुरे भएर बग्ने खोला र कुवाको दुषित पानी पिउन बाध्य भएका छन् । बर्षायाममा आउने बाढीले चुरे खोला तथा कुवामा माटो र बालुवा मिश्रित धमिलो पानी आउने गरेको भए पनि पिउने पानीको अभावमा खोलाको फोहोर पानी वर्षेनी पिउनु पर्ने बाध्यता रहेको स्थानीय आनसिंह कुँवरले दुखेसो पोख्नु भयो ।
उहाँले खानेपानी सुविधाका लागि भन्दै २०७५ सालमा ६ करोड १२ लाख रुपियाँको लागतमा धर्मशान्ति खानेपानी आयोजना सञ्चालन गरिएको भए पनि उक्त आयोजना सम्पन्न गर्न ढिलाई हुँदा आफूहरुले शुद्ध पिउने पानी अपभोग गर्न नपाएको बताउनु भयो । शुद्ध पानीको पहुँच नहुँदा स्थानीय नागरिकसँगै गाई, भैसीहरुलाई नाला र खोलाको फोहर पानी पिउन बाध्य भएको बाराकुण्डाका स्थानीय कलावती धामीले गुनासो गर्नु भयो । उहाँले भन्नु भयो– ‘हाम्रा पूर्वजहरुले पनि खोलाबाट पानी बोकेर खाएका थिए । यस यूगमा पनि हामी यो समस्या समाधान हुन सकेको छैन् ।
खोला र कुवाको पानी पिउनु पर्ने बाध्यता छ ।’ रौटेलाका ७० वर्षीय कर्णबहादुर विष्टले विगतदेखिनै आफूहरुले शुद्ध पिउने पानी नपाएको र अहिलेका छोरानातीहरुले पनि त्यही खोला र कुवाको फोफर पानी पिउनु पर्ने बाध्यता रहेको बताउनु भयो । उहाँले भन्नु भयो– ‘म ७० वर्षको भए । मेरा नातीनातनि पनि छन् । तर, हाम्रो गाउँको खानेपानीको समस्या समाधान भएको छैन् । हामी खोलाबाट पानी बोकेर ल्याएर जीविकोपार्जन गर्दथ्यौ । अहिलेको पीढिले पनि चुरे खोलाकै पानीमा निर्भर रहनु परेको छ । हिउँदको महिनामा खोलानाला सुक्ने हुदाँ पानीको झन चरम समस्या भोग्नु परेको छ ।’
पानी भर्न खोलामा जानु पर्ने भएकाले यहाँका केही स्थानीयहरु मिलेर पाईप विच्छाइ खोलाको पानी गाउँसम्म ल्याइएको भए पनि पाईपबाट थोरै मात्रै पानी आउने भएकोले फोहर पानी भर्नकै लागि लाईनमा बस्नु पर्ने बाध्यता रहेको स्थानीय धानादेवी भट्टले गुनासो गर्नु भयो । निर्वाचनको समयमा भोट माग्न आउँदा पानीको समस्या समाधान गर्छौ भनेर आस्वासन दिने गरेका भए पनि निर्वाचन सम्पन्न भइसकेपछि कसैले कुनै पहल नगरेको स्थानीय गिता लुहारले गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो– ‘आर्थिक अवस्था राम्रो भएकाले मिनिरल पानी किनेर खान्छन् । घरमा बोरिङ्ग लगायका छन् । तर, हामी जस्ता दुई छाक टार्न मुस्किल परिवारले खोला र कुवाको दुषित पानी पिउनु पर्ने बाध्यता छ ।’ शुद्ध पानीको कुनै व्यवस्था नभएका कारण पशुचौपाया र मानिसले एउटै खोलाको पानी पिउनु पर्नै बाध्यता रहेको स्थानीय मनिशा कुँवरले दुखेसो पोख्नु भयो । उहाँले भन्नु भयो– ‘खोलाको पानी पिउने गरिएकोले समयसमयमा गाउँमा झाडापखालाका बिरामीहरु बढ्ने गरेका छन् । तीन तहका सरकार सञ्चालनमा रहेका छन् । तर, हामीले पिउने पानी समेत सफा पाउन सकेका छैनौँ ।’
भिमदत्त नगरपालिका–१ का वडाध्यक्ष आसेफ कुँवरले स्थानीय सरकारसँग बजेट नभएको र भएको बजेट पर्याप्त नभएका कारण खानेपानी योजना सम्पन्न हुन नसक्दा स्थानीयहरुले खोला र कुवाको पानी पिउनु पर्ने बाध्यता भएको बताउनु भयो । उहाँले भौगोलिक विकटताका कारण धेरै बजेट आवश्यक पर्ने भएकोले प्रदेश तथा केन्द्र सरकारसँग माग गरी खानेपानी आयोजना निर्माणको कार्य भइरहेकोले अबको एक वर्षभित्रै स्थानीयहरुले शुद्ध पिउने पानी उपभोग गर्न पाउने बताउनु भयो ।