भारतको मणिपुरमा जारी साम्प्रदायिक हिंसाप्रति विभिन्न क्षेत्रमा सक्रिय रहेका नेपाली नागरिक अगुवाले चासो र चिन्ता व्यक्त गरेका छन् । विभिन्न क्षेत्रमा सक्रिय रहेका नागरिक अगुवाले साउन १७ गते वक्तव्य जारी गर्दै हिंसा अन्त्यका लागि तत्कालै प्रजातान्त्रिक हस्तक्षेपका लागि आग्रह गरेका हुन् ।
उनीहरूले भारतको सङ्घीय र राज्य सरकारले मानव अधिकार संरक्षण गर्ने, कानुनी व्यवस्था कायम गर्ने र लडाइँमा संलग्न पक्षको मध्यस्थतालाई प्रवर्धन गर्ने जिम्मेवारी पूरा नगरेको आरोपसमेत लगाएका छन् । उनीहरूले दक्षिण एसियाको कुनै पनि भागमा सम्बन्धित अधिकारीले आफ्नो जिम्मवारी पूरा नगर्दा बढ्ने हिंसाको विषयमा छिमेकी राष्ट्रसहितका नागरिकले सरोकार राख्नुपर्ने भएकाले नेपाली नागरिक समाज बोलेको जनाएका छन् ।
वक्तव्यमार्फत मणिपुरमा बहुसङ्ख्यक मेइती र अल्पसङ्ख्यक कुकी समुदायबीच भएको हिंसामा भएको जनधनको क्षतिप्रति चिन्ता एवम् चासो व्यक्त गरिएको छ । तीन महिनादेखि जारी हिंसामा १ सय ८० जनाभन्दा बढीको ज्यान गइसकेको छ भने करोडौँको धनमाल र पूर्वाधारमा क्षति भएको छ । मीना आचार्य, रेणु अधिकारी, कुन्दन अर्याल, राजु चापागाईं, पूर्णशोभा चित्रकार, कनकमणी दीक्षित, चन्द्रकिशोर झा, सुशील प्याकुरेल र दिनेश त्रिपाठीले सो वक्तव्य जारी गर्नु भएको हो ।