आइतबार घरमा कोही नभएका वेला स्थानीय हाकिम अन्सारी, साजिद अन्सारी, सोनु अन्सारी, आस मोहमद अन्सारीसहितको समूहले अपराह्न ४ देखि साढे पाँच बजेसम्म बिजुलीको पोलमा बाँधेर निर्घात कुटपिट गरेको थियो । उनीहरूले प्रिन्सलाई प्लास्टिकको पाइप, मुक्का, लाठी, लात्तीले कुटपिट गरेको उनले बताए । ‘भाइलाई बाँधेर आक्रमण गरिएको छ । घटनामा संलग्न सबैलाई पक्राउ गरी कारबाही हुनुपर्छ,’ अलियासले भने ।
गौर नगरपालिका– ३ का २० वर्षीय प्रिन्स अन्सारीलाई आइतबार अपराह्न ४ बजेतिर केही स्थानीयले कुटपिट गरेको भिडियो ‘भाइरल’ बनेको छ । जसमा गौर– ३ का वडाध्यक्ष अब्दुल ताहिर रमिते बनेका देखिन्छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी उमाशंकरप्रसाद यादवका अनुसार कुटपिटको भिडियो सार्वजनिक भएपछि घटनामा संलग्न एकजनालाई नियन्त्रणमा लिइएको छ । ‘पीडितको घाउ जाँच प्रक्रिया अघि बढाइसकेका छौँ,’ घटनाको थप अनुसन्धान भइरहेको छ,’ उनले भने ।
स्थानीयका अनुसार गत शुक्रबार जुम्माको नेमाज सकेर आइसक्रिम खाने विषयमा गाउँका स्थानीय सोनु अन्सारीसँग प्रिन्सको विवाद भएको थियो । घटना भएको दिन आफूहरू सबै परिवार वीरगन्ज गएको मौका छोपेर उनीहरूले भाइलाई कुटपिट गरेको अलियासले बताए ।