छविसपाथिभेरा गाउँपालिका–७ निवासी रेडियो खप्तड आवाज र नेपाल एगल अनलाइनमा कार्यरत २५ वर्षीय पत्रकार सुनिल मण्डेललाई कुटपिट गरेका आरोपमा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका बझाङ जिल्ला संयोजक नगेन्द्र खड्का र उहाँका छोरा बासु खड्कालाई साउन १० गते गिरफ्तार गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका बझाङ जिल्ला संयोजक नगेन्द्र खड्का र उहाँका छोरा बासु खड्काले साउन ९ गते कुटपिट तथा अभद्र व्यवहार गर्नु भएकोले उहाँहरु विरुद्ध साउन ९ गते नै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको पीडित पत्रकार मण्डेलले बताउनु भयो ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा, बझाङ र प्रेस चौतारी नेपाल, बझाङले साउन ९ गते प्रेस विज्ञप्ति जारी गर्दै घटनामा संलग्नलाई कानुनी कार्वाही गर्न र पत्रकारहरुको सुरक्षाको सुनिश्चित गर्न प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायसँग माग गरेका छन् । पे्रश विज्ञप्ति किन जारी गरेको भन्दै रास्वपाका जिल्ला संयोजक खड्काका छोरा बासु खड्काले आफूलाई पनि गालिगलौज गरी अभद्र व्यवहार गरेको नेपाल पत्रकार महासंघ, बझाङ शाखाका अध्यक्ष ३८ वर्षीय शैलेन्द्र रोकायाको आरोप छ ।
पत्रकार मण्डेलले होटलको विज्ञापन तथा समाचार सामग्री (डकुमेन्ट स्टोरी) प्रकाशन तथा प्रसारण गर्ने भनेर आफूसँग सम्झौता गर्नु भएको तर उक्त समाचार सामग्री प्रकाशन नभएपछि आफूले बुझ्न खोज्दा अपहरणको आरोप लगाइएको आारोपित खड्काको भनाइ छ । पीडत पक्षले दिएको उजुरीका आधारमा आरोपितद्धयलाई गिरफ्तार गरी अनुन्धान भइरहेको र दुबै पक्षलाई बोलाई छलफल गर्ने तयारी पनि भइरहेको जिल्ला प्रहरी कार्यालय, बझाङका डिएसपी जागेश्वर भण्डारीले बताउनु भयो ।