सुनसरीकाे बराहक्षेत्र नगरपालिका–४ का २८ वर्षीय पत्रकार सुविन विश्वकर्माले बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले ज्यान मार्ने धम्की दिएको आरोप लगाउनु भएको छ ।
मेयर कार्कीले बराहक्षेत्र नगरपालिकाका, प्रेस संयोजक बराहक्षेत्र नगरपालिका-६ का ३६ वर्षीय सुरज भनिने महेश क्षेत्रीलाई प्रयोग गरी साउन ९ गते ज्यान मार्ने धम्की दिएको पीडित पत्रकारको आरोप छ ।
बराहक्षेत्र नगरपालिका-४ स्थित हैटा खोला किनारमा बसोवास गरिरहेका तीन ओटा सुकुम्वासी परिवारलाई ०८० साउन ५ गते मेयरले हटाउन खोजेको विषयमा समाचार लेखेपछि जनप्रतिनिधिबाट धम्की आरोप पीडित पत्रकारको आरोप छ ।
बराहक्षेत्र नगरपालिका-४ स्थित घरमा बसिरहेको अवस्थामा साउन ९ गते महेश क्षेत्री आएर मेयरका विषयमा नकारात्मक समाचार लेख्नेलाई अर्को संसार पुर्याइ दिने धम्की दिएको पीडित पत्रकार विश्वकर्माले इन्सेक प्रतिनिधिसँग बताउनु भयो ।
पत्रकारलाई धम्की दिएको विषयलाई मेयर रमेश कार्कीले अस्वीकार गर्नु भएको छ ।
मेयर कार्कीले नगरपालिकाको प्रेस संयोजकमा बस्न सुविन विश्वकर्माले इच्छा गरेको तर आफूले अर्कैलाई प्रेस संयोजक तोकेपछि समाचारका माध्यमबाट रिस फेरेको मेयर कार्कीको भनाइ छ ।
पत्रकार विश्वकर्माले साउन ६ गते हाम्रोशब्द डटकममा सुकुम्वासीलाई उठिवास लगाउन मेयरको सक्रियता विषयमा समाचार लेखेपछि ज्यान मार्ने धम्की दिइएको नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाका सहसचिव तीर्थ कार्कीले बताउनु भयो ।
ज्यान मार्ने धम्कीका विषयमा पीडित पत्रकारले पत्रकार महासङ्घ, सुनसरी शाखामा साउन ९ गते मौखिक उजुरी दिएको सहसचिव कार्कीले बताउनु भएको छ ।
मानव अधिकार रक्षकसम्बन्धी घोषणा पत्र सन् १९९८ ले पत्रकारलाई मानव अधिकार रक्षकका रुपमा परिभाषित गरेको छ ।