किसानहरूको प्रमुख बाली धान खेती लगाउने समयमा पशुहरूमा लागेको लम्पी स्किन रोगको उपचार हुन नसक्दा धान खेती लगाउन किसानहरू समस्यामा परेका छन् ।
पहाडी भेगको जमिनमा धान खेती लगाउन किसानहरू गोरुको प्रयोग गर्ने गरेका छन् । तर पशुहरूमा लागेको लम्पी स्किन रोगका कारण गोरुहरूबाट यस वर्ष रोपाइँ नभएको कारण किसानहरूको धेरै जग्गा बाँझो भएको छ ।
पशुहरूमा जेठ महिनादेखि देखापरेको उक्त रोग साउनको पहिलो हप्तासम्म उपचार हुन नसक्दा गोरु लगाएर धान रोपाइँ गरिने भिरालो जमिनहरूमा समस्या भएको इन्द्रावती गाउँपालिका-७ का किसान मधुसुधन सापकोटाले बताउनु भयो । बेसीको जमिनमा ट्याक्टर लगाएर रोपाइँ गरियो भने पहाडी भिरालो जमिनमा गोरु नै लगाउनु पर्ने खेतहरूमा धान रोपाइँ हुन नसकेको सापकोटाको भनाई छ ।
पहाडी जिल्ला भएका कारण यहाँका अधिकांश जमिनहरू भिरालो र अग्ला कान्ला भएका खेतहरू छन् । ती खेतहरूमा धान खेती गर्न गोरुकै प्रयोग गरिन्छ । लम्पी स्किन रोगको महामारी भएका कारण यस वर्ष गोरु प्रयोग गरेरे रोपाइँ गर्न किसानहरूले पाएनन् । लम्पी स्किन रोगको उपचार नहुँदा यस वर्ष ४० प्रतिशत जमिन बाझै रहने भएको जुगल गाउँपालिका-५ का किसान मनोहर सापकोटाले बताउनु भयो ।
‘गाउँभरीमा २/३ ओटा ट्याक्टर भएपनि अग्लो कान्ला भएका खेतमा लैजान सकिँदैन । गोरु जोत्न नपाएपछि यसपालिको धानखेती नहुने नै भयो’, बराम्चीकी किसान साबित्रि घिमिरेले गुनासो गर्नुभयो ।
कहिले प्राकिृतिक विपत्ति त कहिले महामारी, त्यसमा पनि किसानले समयमा पाउन नसकेको मल, बिउ आदिका कारण किसानी काम गर्नेहरूलाई सधैँ समस्या पर्ने गरेको इन्द्रावती गाउँपालिका अध्यक्ष झम्क नेपालले बताउनु भयो ।
पशुमा आएको रोगको महामारीले किसानले गोरु प्रयोग गर्न नपाउँदा यस वर्षको धान रोपाइ कम भएको जुगल गाउँपालिका कृषि शाखा प्रमुख मिना श्रेष्ठले बताउनु भयो । ‘पशुमा लागेको रोगको उपचार समयमै नहुनु र यही अवस्था भइरहे आउँदो वर्षमा नागरिकहरूमा भोकमरी समेत हुनसक्ने कृषि शाखा प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।