आर्थिक लेनदेन मिलाउन तथा घर खर्चका लागि भनेर ६ लाख रुपैयाँ लिएकी दर्जीले २ वर्षमा पटकपटक गरी २१ लाख १० हजार बुझाइसकेकी छन् । तर, साँवा ब्याज कट्टी हुनुको सट्टा पिडित को नाममा १७ लाख रुपैयाँको तमसुक छ ।
पोखरा महानगरपालिका २७ रिठ्ठेपानीकी सीता दर्जीले २०७४ जेठ ८ गते स्याङ्जा गल्याङ नगरपालिका ७ घर भएका कमल थापासँग ६ लाख ऋण लिइन् ।
६ लाख ऋण लिएपछि हामीले २ वर्षमा २१ लाखभन्दा बढी उहाँलाई बुझाइसक्यौं । तर, उहाँले पटकपटक हाम्रो घरमा आएर अनावश्यक टर्चर गर्ने, गाली गर्ने, धम्की दिने, बेइज्जत गर्ने गर्नुहुन्थ्यो’, सीता दर्जीकी छोरी दिप्सा दर्जी भन्छिन्, ‘सावाँको करिब ४ गुणा तिर्दा पनि ऋण चुक्ता भएन ।’
पैसा बुझाइसकेपछि सीताले चेक माग्दा थापाले चेक हराएको बताएको उनी सुनाउँछिन् ।
थापाले २१ लाख १० हजार रुपैयाँ लिएको स्वीकार नगरी सीता दर्जीविरुद्ध १७ लाखको चेक बाउन्सको मुद्दा दायर गरे । उनले २०७७ पुस २१ गते जिल्ला अदालत कास्कीमा सीता दर्जीविरुद्ध १७ लाख चेक बाउन्सको मुद्दा दर्ता गराएका थिए ।
जिल्ला अदालत कास्कीले सीता दर्जीलाई २०७८ असोज १३ गते चेक अनादरमा दोषी ठहर गरेको थियो । उनलाई चेकमा उल्लेखित रकम र सो भरिभराउ हुँदासम्मको ब्याज भराउन जिल्ला अदालतले आदेश दियो । आदेशपछि थापाले अदालतमा उपस्थित हुन नपर्ने बताए । तर, पछि बारम्बार टर्चर दिन थालेपछि सीताले उच्च अदालत पोखरामा पुनरावेदन गरिन् । तर, त्यतिबेलासम्म उनले पुनरावेदन गर्ने पाउने समय घर्किसकेको थियो ।
अदालतको अवहेलना गरेको भन्दै गत असार २९ गते सीता दर्जीलाई पक्राउ गर्यो । उनी अहिले जिल्ला कारागार कास्कीमा जेल जीवन कटाइराखेकी छन् ।
चेक बाउन्सको मुद्दामा जेल पुगेपछि छोरी दीप्सा अहिले आमाको न्यायमा भौतारिरहेकी छन् । उनले आमालाई फँसाइएको भन्दै संयुक्त दलित संघर्ष समिति कास्कीमा निवेदन दिएकी छन् ।
संघर्ष समितिले आइतबार पत्रकार सम्मेलन गर्दै सीतालाई फँसाइएकाले थापालाई पक्राउ गर्नुपर्ने माग गरेको छ । सीताले पटकपटक गरी २१ लाख १० हजार रुपैयाँ भुक्तानी गरिसकेकाले सीता निर्दोष रहेको संघर्ष समितिले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
दुवै पक्षलाई छलफलमा राख्दा सीता पक्ष जवाफदेही र प्रमाण साक्षी ल्याउन तयार भएको तर आरोपित कमल थापा छलफलमा समयमा नआउने गरेको संघर्ष समितिका संयोजक दामबहादुर विकले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।